Sunday, June 28News That Matters

घर आगलागी हुँदा ३ वर्षिय बालकको जलेर मृत्यु

पूर्णपुष्टि, चैत ९ गते । 

उदयपुरमा घर आगलागी हुँदा एक बालकको जलेर मृत्यु भएको छ । कटारी नगरपालिका–१० पाल्सिङ बरालथुम्कामा घर आगलागी हुँदा ३ वर्षिय बालक अर्बिन्द्र थापाको जलेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताउनुभयो ।

हिजो राती परालको कुनिउबाट अचानक आगो सल्किदा नजिकैको तीन घर जलेर नष्ट भएसंगै बालकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीबाट सुजन थापाको ढुंगामाटोले बनेको फुसको छानो भएको दुईतले घर, १ वटा मतान, १ वटा बाख्राखोर, १ लाख ५० हजार नगद, २ वटा बाख्रापाठा, अन्नपात, लत्ताकपडा, भाँडाबर्तन जलेर नष्ट भएका छन् । उनको नगद जिन्सी गरी करिब ३० लाखको क्षती भएको अनुमान छ । जलेर मृत्यु हुने बालक अर्बिन्द्र उनकै छोरा हुन् ।

प्रकाश थापाको ढुंगामाटो र फुसको छानो भएको तीनतले घर, दुईवटा मतान, १ लाख ५० हजार नगद, २ तोला सुन, १५ तोला चाँदी, १ वटा भैसीको पाडो, २ वटा बाख्रा पाठा, अन्नपात, लुगाफाटा, भाँडाकुडा जलेका छन् । अन्दाजी नगद जिन्सी २८ लाख बराबरको क्षती भएको प्रहरीको अनुमान छ । त्यस्तै मेघबहादुर थापाको घर जल्दा २५ लाख बराबरको क्षती भएको अनुमान छ । उनको ढुंगामाटोले बनेको फुसको छानो भएको २ तले घर, एकओटा मतान, ३ वटा बाख्रापाठो, २५ वटा कुखुरा, अन्नपात, लत्ताकपडा, भाडावर्तन सबै जलेका छन् ।

अस्थायी प्रहरी चेक प्वाईन्ट बेतेनीमा आगलागीको सूचना आए लगत्तै त्यहाँका प्रहरी सहायक निरिक्षक निरिक्षकको टोली, प्रहरी चौकी सोरुङछविसेबाट प्रहरी हवल्दारको टोली र इलाका प्रहरी कटारीबाट प्रहरी नायव उपरिक्षकको टोली घटनास्थल पुगेको थियो । प्रहरी र स्थानीयबासीको प्रयासबाट करिब चारघण्टापछि आगो नियन्त्रणमा आएको स्थानीयले बताएका छन् । सुक्खा मौसमको सुरुवात भएसंगै आगलागीको घटना बढ्न थालेको छ ।