
पूर्णपुष्टि, चैत्र १६
चिनबाट उपलब्ध हुने करिब ८ लाख डोज बराबरको कोरोना भ्याक्सिन आज नेपाल आईपुग्ने भएको छ ।
भ्याक्सिन तथा अत्यावश्यक स्वास्थ्य सामाग्रि लिन नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज आइतबार साँझ चीनको राजधानी बेइजिङ उडेको छ ।
उत्तरी छिमेकी चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोनाभाइरसविरूद्धको भ्याक्सिन सोमबार आइपुग्ने भएको हो ।
सरकारी निर्णयबमोजिम चीन सरकारले उपलब्ध गराउने वस्तुगत अनुदान स्वीकार गर्ने निर्णय भएअनुरुप आठ लाख मात्रा कोभिडविरुद्धको खोपलगायत सहायता सामग्री लिन निगमको जहाज बेइजिङ गएको निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिनुभयो ।
उनका अनुसार बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलबाट ढुवानी गर्न कलसाइन आरए ४२५१ द्वारा आइतबार काठमाडौं–बेइजिङ उडान गर्ने निगमको तयारीबमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग समन्वय गरिएको छ ।
उक्त जहाजले सोमबार बेइजिङको स्थानीय समयानुसार अपराह्न ४ः३० बजे काठमाडौँका लागि प्रस्थान गर्नेछ । सोही दिन राति ८ः३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्नेछ ।
