
पूणर्पुष्टि, भदौ ९
चौदण्डीगढी नगरपालिका बेल्टार स्थित ७ सातधारेमा रहेको कोरोना अस्पताल बाट हाल सम्म ३१ जना निको भइसकेको छ ।
जिल्लाको बिभिन्न स्थानबाट संक्रमित भएर उपचारका लागि आएका ३१ संक्रमितहरु निको भएर घर फर्किएको चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईले जानकारी दिनुभयो ।
जेठ २९ मा पहिलो पटक सो क्षेत्रमा संक्रमितहरुको उपचार गर्ने उदेश्यले ३ पालिका प्रमुखहरु त्रियुगा नगर प्रमुख वलदेव चौधरी, चौदण्डीगढीका खगेन्द्र राई र बेलकाका दुर्गा थापा (स्वस्ति)ले अस्पतालको संयुक्तरुपमा शिलान्यास गरेका थिए ।
अस्पतालमा दैनिक १५ देखि २५ जनासम्म संक्रमित विरामीहरु बस्दै आएका छन् । उनीहरुलाई निको भईञ्जेलसम्मको खानपिन लगायतको सबै खर्च नगरपालिकाको आफ्नै स्रोतबाट व्यवस्थापन गर्दै आएको प्रमुख खगेन्द्र राई राईले बताउनुभयो ।
तत्काल २० शैयाको आईसोलेसन वार्ड निर्माण हुने भनिएपनि अहिले सो भन्दा बढीको उपचार हुँदै आएको छ । उक्त अस्पताल निर्माणार्थ त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका त्यसैगरी लिम्चुङबुङ, रौतामाईपोखरी र उदयपुरगढी गाउँपालिकासहित ६ वटा स्थानीय सरकारको २ करोड रुपैयाको लगानीमा हाल अस्पताल निर्माणाधिन अवस्थामा रहेको छ ।
