Friday, May 1News That Matters

जग नै कमजोर बनाएकाले त्रियुगाको पक्कीपुल भत्कियो

पूर्णपुष्टि, असार २१ ।

निर्माणको क्रममा जग नै कमजोर पारिएकाले उदयपुरको एउटा पक्की पुल भत्किएको छ । चौदण्डीगढी नगरपालिका ५ को सिवाई र ६ नं. वडाको बेल्ही जोड्ने त्रियुगाको पक्कीपुल दुईदिन अघि वर्षातमा भत्किएको हो ।

१२ वर्षअघि देखि निर्माण थालिएको पुल भत्किएको हो । निर्माणमा ढिलाई त छदैछ, पुलको जग नै कमजोर पारिएकाले यतिबेला पुल भत्किएको प्राविधिकको भनाई छ । यसमा ठेकेदार कम्पनीको लापरवाही र प्राविधिक कमजोरी रहेको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख इन्जिनियर गोपाल खकुरेलले बताउनुभयो । पुल भत्किनुको खास कारण भने विज्ञटोलीले अनुसन्धान गरेपछि पत्ता लाग्ने उहाँको भनाई छ ।

पुलको दक्षिणतर्फको दुईवटा सपोर्ट स्याप भासिएर तत्किएका छन् । तीनवर्षमा निर्माण सम्पन्न हुनुपर्ने पुल पटक पटक म्याद थप गर्दै आउदा १२ वर्षमा सकिन लाग्दा फेरी भत्किएको हो । २८५ मिटर लम्बाई र साढे ५ मिटर चौडाई भएको पुल  निर्माणमा गाईघाट – दिक्तेल सडक आयोजनाले प्राविधिक पाटो हेर्दै आएको थियो । पुल निर्माणमा उसको पनि निगरानी तथा अनुगमनमा कमजोरी देखिएको सर्बसाधारणको भनाई छ ।

पुल भत्किएपछि स्थानीयको खुसी गुमेको छ । चौदण्डीगढी नगरपालिकालाई भौगोलिक अवस्थामा दुईटा जस्तो बनेको अवस्थामा पुलले जोडेको थियो । स्थानीयहरुले पुलको कारण बर्षौको पिडा भुल्दै गर्दा निर्माण कम्पनी र प्राविधिक हेर्ने पक्षको कमजोरीका कारण पुलसंगै त्यो खुसी भत्किएको छ । अव छिटै पुलको अवस्था अनुसन्धान गरी फेरी निर्माण कार्यलाई अगाडी बढाउनुपर्ने चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द राईले बताउनुभयो । 

पुल मजबुद बनाउने भन्दापनि काम कसरी सिध्याउनेतर्फबाट ध्यान गएको देखिन्छ । काममा लापरवाही र गुणस्तरहिनतालाई ध्यान दिएको पाइएन । पुल भत्किदा एक स्थानीय अप्mतर मियाँ लडेको पुलमा परेर घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको छ ।

भत्केको पुलको नगरपालिका र जिल्ला समन्वय समितिले अनुगमन गरेको छ । अनुगमनमा काममा कमजोरी देखिएको छ ।