
पूर्णपुष्टि, चैत २७ ।
गाउँब्लक जग्गाको जग्गाधनी प्रमाण पूर्जा वितरणको नाममा उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ५ बेल्हीका स्थानीय सर्बसाधारणसंग अवैधानिक ढंगले रकम असुल्ने काम भएको छ । वडाध्यक्ष र नापी कार्यालयको कर्मचारीको मिलेमतोबाट प्रतिघर एक हजार रुपैंयाको दरले रकम असुली गरिएको सर्बसाधारणले बताएका छन् ।
घरमै जग्गाधनी प्रमाण पूर्जा ल्याईदिने भन्दै गाउँबाट ८० भन्दा बढि घरबाट एक हजार रुपैयाका दरले पैसा उठाएको हो । रकम संकलनमा टोल विकास संस्थाका अध्यक्षहरुसमेत खटाइएको उनीहरुको भनाई छ । उनीहरुले दुई टोल विकास संस्थाका अध्यक्षहरु मानपुर चौधरी, रमानन्द चौधरी र गाउँका अगुवा टिकनारायण चौधरीले पैसा संकलन गरेको र उनीहरुबाट संकलित रकम नापी कार्यालयका कार्यालय सहयोगी बालमुकुन्द चौधरीलाई बुझाएको बताएका छन् । निःशुल्करुपमा पाइने गाउँब्लक जग्गाको पूर्जाका लागि घुस दिनु परेको प्रतिक्रिया सर्बसाधारणको छ । 
त्रियुगा नगरपालिकाको वडा नं. १३ स्थित १ नं. नापी टोलीको कार्यालयमा आज पूर्जा वितरणमा आएका सर्बसाधारणहरुले गाउँका अगुवा र कर्मचारीबाटै रकम असुल्ने काम भएको गुनासो गरे । “हामीसंग १ हजारका दरले पैसा लिएको हो” स्थानीय विनोद चौधरीले भन्नुभयो –“त्यसवापत रसिद दिइएको छैन ।”
वडाध्यक्ष देवनारायण चौधरीले यसबारे जानकारी नभएको बताउनुभयो । गाउँमा बुझेर रकम असुल गरेको पाइएमा सर्बसाधारणको पैसा फिर्ता गराउने र दोषीलाई कारवाही चलाउने बताउनुभयो । 
नापी कार्यालय उदयपुरका प्रमुख विनोदकुमार चौधरीले निःशुल्क रुपमा वितरण हुने गाउँ ब्लक जग्गाको पूर्जा रातो कितावको लागि एक सय रुपैया मात्र राजस्व लिइने बताउनुभयो । त्यसबाहेक अन्य पैसा लिन नमिल्ने बताउनुभयो । पूर्जा वितरणको नाममा त्यसरी पैसा असुल गरेको बारे जानकारी नभएको उहाँको भनाई छ ।
वहाका अनुसार वडाभित्र ८१ वटा जग्गाधनी प्रमाण पूर्जा तयारी भएकोमा धेरैजसोले आज बुझेर लगेका छन् । पहिले नै नापजाँच भई लालपूर्जा समेत भईसकेका र हाल विभागीय स्विकृति लिएर पूर्जा वितरणा गरिएको उहाँले बताउनुभयो ।

