Monday, June 22News That Matters

ज्याननै जाने गरी हतियार प्रहार गरी लाखौको धनमाल लुट्ने ३ जना पक्राउ

पूर्णपुष्टि,वैशाख २६

सुनसरी धरान–१५ पुर्वेली पथबाट धारिलो हतियारले प्रहार गरी गम्भीर घाईते बनाई नगद र गरगहना लुट्ने समुह पक्राउ परेका छन् । मोरङ पथरी–३ घर भई हाल धरान–१५ सुनगाभा मार्गमा बस्ने ३८ वर्षीय सन्तोष भन्ने वीरबहादुर परियार, पथरी शनिश्चरे–५ पिपलडाँडा घर भई हाल धरान–१० पुतली लाईन बस्ने ३५ बर्षीय सोनी राई र धरान–१३ अमरहाट बस्ने २९ वर्षीया लक्ष्मी लिम्बु पक्राउ परेका हुन् ।

बैशाख ११ गते बिहान सँवा ९ बजे सोही स्थानका झरना बिश्वकर्मा र उनैका छोरा जोहन बिश्वकर्मा पुजा गर्न घर बाहिर गएको अवस्थामा अपरिचित मानिस प्रवेश गरी झरनाकि आमा गोबिन्द माया विश्वकर्मालाई टाउको लगायत शरिरका बिभिन्न भागमा धारिलो हतियारले प्रहार गरी गम्भीर घाईते बनाएको थियो ।

गोबिन्द माँयालाई नगद रु. २ लाख र घरमा रहेका सुनका गरगहना गरी जम्मा ११ लाख ४० हजार ९ सय ५० रुपैयाँ बराबरको धनमाल डाँका गरी लगेका थिए ।

उक्त घटनामा घाईते भएकी गोबिन्द मायाको न्यूरो अस्पताल विराटनगरमा पठाईएकोमा उपचारको क्रममा बैशाख १९ गते मृत्यु भएको थियो । घटनामा संलग्न प्रतिबादीहरुको खोजतालसका लागी पिडित परिवारको जाहेरी तथा स्थानीय मानिसको सुचनाको आधारमा सुक्ष्म रुपले अनुसन्धान प्रकृया अगाडी बढाईएको थियो ।

घटनाको गहन अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुनसरी तथा ईलाका प्रहरी कार्यालय धरानले उल्लेख गरिएका समान सहित घटनामा संलग्न उनिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रकृया अगाडि बढाईएको छ ।

पक्राउ परेका उनिहरुले लुटेर लगेको गहनाहरु सोनी राईले बहिनी नाता पर्ने लक्ष्मी लिम्बुलाई लुकाई छिपाई राख्न दिएको भनि खुल्न आए पश्चात लक्ष्मीको कोठा खानतलाशी गर्दा लुकाई छिपाई राखेको अवस्थामा सुनका गहनाहरु समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ  ।

पक्राउ परेका उपर कर्तव्य ज्यान र डाँका मुद्धामा कारवाही प्रकृया अगाडी बढाई थप अनुसन्धान समेत भईरहेको प्रहरीले जनाएको छ ।