Thursday, April 30News That Matters

झापाका तीन जनाको पानीमा डुबेर मृत्यु

पूर्णपुष्टि, भदौ २०
झापामा पानीका डुबेर आज एकै दिन तीन जनाको मृत्यु भएको छ । बिरिङ खोलामा डुबेर दुई जना र कचनकवल गाउँपालिका–१ स्थित नीलडाँडा नजिकैको पैनीमा डुबेर थप एक जनाको मृत्यु भएको हो ।
मोरङको सुनवर्सी नगरपालिकाकी ३८ वर्षीया उमा विश्वकर्माको बिरिङ खोलामा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले बताए ।
उमाको शव आइतबार बिहान कनकाई–७ स्थित बिरिङ खोलामा फेला परेको हो । उनी झापाको कनकाई नगरपालिका–८ स्थित माइतीमा घर बस्दै आएकी थिइन् । उनीसँगै रहेको अढाई वर्षको छोरा पनि बेपत्ता भएका थिए ।
प्रहरीका अनुसार छोरालाई लिएर उनी घरमा कसैलाई जानकारी नगरी राति बेपत्ता भएकी थिइन् । मृतकको बेपत्ता छोराको पनि बिरिङ खोलामा शव आइतबार दिउँसो फेला परेको प्रहरीले जनाएको छ ।
तीन वर्षका शिशिर विश्वकर्माको शव कन्काई नगरपालिका–६ स्थित बिरिङ खोलाको बगरमा घोप्टो परेको अवास्थामा फेला परेको प्रनाउ थापाले बताए।
त्यस्तै‚ कचनकवल गाउँपालिका–१ स्थित नीलडाँडा नजिकैको पैनीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निलडाँडाका ४८ वर्षीय दिलबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।
तामाङ शुक्रबार साँझ ५ बजे घरबाट हिँडेका थिए । परिवारजनले उनी हराएकोबारे प्रहरी चौकी घेराबारीलाई जानकारी गराएका थिए । प्रहरीले उनको खोजी गर्ने क्रममा आइतबार बिहान ८ बजे पैनीमा डुबेको अवस्थामा शव फेला पारेको थियो ।