
पूर्णपुष्टि, असार ७
मोरङमा टिपरको ठक्कारबाट नेपाली कांगे्रस धनकुटाका सचिवसहित दुईजनाको ज्यान गएको छ । दुर्घटनामा धनकुटा पाख्रिबासका ५० वर्षीय कृष्णबहादुर थापा र सुनसरीको इटहरी उपमहानगरपालिका–४ का अन्दाजी ३५ वर्षीय दीपु शाहको ज्यान गएको हो ।
धनकुटाबाट झापा जाने क्रममा गएराति ७.४० बजे मोरङको विराटचोकमा टिपरले मोटरसाइकललाई ठक्क दिँदा थापा र शाहको ज्यान गएको प्रहरीले जनाएको छ ।
थापा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव हुन् । शाह बेलबारीस्थित एनएमबी बैंक शाखा कार्यालयका कर्मचारी हुन् ।
दुर्घटनामा थापाका भाइ २७ वर्षीय भीमबहादुर थापा गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विराटनगरको विराट नर्सिङ होम रेफर गरेको छ । दुर्घटनामा परेको को ३६ प ५९७९ नम्बरको मोटरसाइकलका कृष्णबहादुर आफैंले चलाएका थिए ।
इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार पूर्व–पश्चिम राजमार्गमा पर्ने सुन्दरहरैँचा नगरपालिका–९ विराटचोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको टिपरले विपरीत दीशातर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट बेलबारीबाट इटहरीतर्फ आउँदै गरेको शाह सवार २९ प ९५५० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो । थापा चढेको मोटरसाइकल पनि त्यसरी नै सँगै दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
दुबै जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबार राति ९ः३० बजेतिर ज्यान गएको हो ।
