
पूर्णपुष्टि,मंसिर ७
तनहुँमा चाडपर्वको समयमा विभिन्न स्थानबाट गरी प्रहरीले ७२ जना जुवाडेलाई पक्राउ परेको छ । चाडपर्वको समयदेखी शनिबारसम्म जुवाखालबाट प्रहरीले ७ लाख ४० हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पक्राउ परेका जुवाडेलाई मुद्दा दर्ता गरिसकिएता पनि फैसला हुन बाँकी रहेको प्रहरीले जनाएको छ । जुवा खेल्ने र खेलाउनेलाई ३ महिनासम्म कैद साथै ३० हजारसम्म जरिवाना वा दुवै हुनसक्ने मुलुकी अपराध ऐन संहिता, २०७४ को १३२ नंम्बरमा उल्लेख गरेको छ । प्रहरीले बरामद गरेका बिगो जफत गर्ने कानूनी व्यवस्था छ ।
जुवा खालबाट कौडा, तास, तन्नालगायतका सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीकाअनुुसार जिल्लाको डुम्रे, बेलचौतारा, भानु नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुरलगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरीएको हो ।
प्रहरीले जुवातास खेल्नेलाई सूक्ष्मरूपमा अनुसन्धान गर्दै सुराकीको आधारमा जुवाडेलाई धमाधम पक्राउ गर्ने कार्यलाई अभियानको रूपमा कदम चालेको छ ।
