
पूर्णपुष्टि, कात्तिक २५
चितवन राष्ट्रिय निकुञ्जमा चार वर्षपछि तस्करले गैँडा मार्न थालेपछि निकुञ्जले नयाँ रणनीति अपनाउदै संरक्षणमा जुटेको छ ।
गत साउनयता चोरी सिकारीबाट चार वटा गैँडा मारिएका छन् भने यहि अवधिमा प्राकृतिक कारण १० वटा गैँडा मरेका छन् । तस्करले गैँडा मार्न थालेपछि नयाँ रणनीति अपनाउन थालिएको निकुञ्जले जनाएको छ ।
निकुञ्जले चोरी शिकार नियन्त्रणका लागि तिहारअघि नै तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर निकुञ्ज विभाग हुँदै वन तथा वातावरण मन्त्रालयमा पठाउँदै छ । वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीको निर्देशनमा तत्काल योजना निर्माण गर्न लागिएको हो ।
हामी योजना बनाएर संरक्षणमा जुटेको जनाईएको छ । बीचको समयमा चोरी शिकार बन्द भएसँगै कतिपय संरचना भत्किएकाले पुनः पूर्ववत् अवस्थामा फर्काएर चोरी शिकार नियन्त्रणमा निकुञ्ज जुटेको छ ।
निकुञ्जभित्र कडाइसाथ गस्ती, बाहिर सुराक सञ्जालको व्यापक प्रयोग र नेपाल प्रहरीको अपराध अनुसन्धान ब्यूरोसँग सहकार्य गरेर प्रविधिको प्रयोग गरी चोरी सिकारी नियन्त्रण अभियान गरिन लागेको जनाएको छ ।
निकुञ्जका संवेदनशील क्षेत्रमा स्विप अप्रेसन सुरु गरिएको छ भने पुरै निकुञ्जलाई आफ्नो नियन्त्रणमा रहने गरी गस्ती गरिएको छ । पैदल, डुङ्गा, साइकल, मोटरसाइकल, गाडी, हात्तीबाट निगरानी गरिँदै आइएको छ । अहिले निकुञ्जमा ४६ वटा पोष्ट रहेका छन् ।
सङ्कटकालको समयमा तस्करी बढेका बेला पोष्टको सङ्ख्या ५२ पुर्याइएको थियो । निकुञ्जले पोष्ट थप गर्ने योजना बनाएको छ । मध्यवर्तीका बासिन्दाहरुसँग सहकार्य गरी सुराक सञ्जाललाई चुस्त बनाउन लागिएको जनाईएको छ ।
विसं २०७३ को चैतमा कसरा नजिकै सामुदायिक वनमा तस्करले गैँडा मारेयता प्राकृतिक कारणले मात्र मरेका थिए । गत वर्ष प्राकृतिक कारणबाट २६ गैँडा मरेको थियो । यस वर्ष तस्करका कारण मरेका चार गैँडा फेला परेसँगै मन्त्रालयको समेत ध्यानाकर्षण भएको हो ।
सन् २०१५ को गणना अनुसार नेपालमा ६ सय ४५ गैँडा रहेका छन् । यसमध्ये गैँडाको मुख्य वासस्थान चितवनमा मात्रै ६ सय ५ गैँडा भेटिएको थियो । निकुञ्जमा सबैभन्दा बढी गैँडा आर्थिक वर्ष २०५८/०५९ मा मरेका हुन् । यो वर्ष मरेका ४८ गैँडामध्ये ३७ वटा चोरी सिकारीले मारेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । यस आर्थिक वर्षमा निकुञ्जमा गैँडा गणना गरिँदै छ ।
गत वर्ष गणना गर्ने अन्तिम तयारीमा कोरोना सङ्क्रमण बढेपछि रोकिएको थियो ।
