
पूर्णपुष्टि, भदौ १६
जंगलमा पाईने एक वनस्पती तितेपातीको तेल एक लिटरकै आठ हजार पर्दछ ।

यसको लमजुङमा व्यावसायीक तेल उत्पादन सुरु भएको छ । क्वहोलासोंथर गाउँपालिका–८ घाम्राङबेसीमा रहेको हिमालयन हर्ब सेन्टरले आधुनिक प्रविधि स्टिम डिस्टिलेसन सिस्टमबाट तितेपातीको तेल उत्पादन सुरु गरेको हो ।
गत वर्ष परीक्षण गरिएको र यस वर्षदेखि तितेपातीबाट तेल उत्पादन गरिएको हिमालयन हर्ब सेन्टरले जनाएको छ । गाउँघरमा बाझिदो जग्गामा फुलेको तितेपातीलाई प्रशोधन गरेर तेल उत्पादन सुरु गरेको जनाईएको छ । यसको लागी गतवर्ष परीक्षण गरिएको थियो । यही भदौदेखि भने उत्पादन सुरु गरेको सेन्टरले जनाएको छ ।
एक हप्ताको अवधिमा ८ लिटर तितेपातीको तेल उत्पादन भएको जनाईएको छ । एक लिटर तेल उत्पादन गर्न ६ सय किलो पाती चाहिन्छ । एक लिटर तेलको ६/८ हजार रुपैयाँसम्म पर्ने जनाईएको छ । तितेपातीको तेल खाने परिकारका साथै सौन्दर्य सामग्री र विभिन्न औषधि निर्माणमा उपयोग गरिन्छ ।
विशेषगरी तितेपातीको तेल युरोपका बजारमा माग उच्च रहेको जनाईएको छ । नेपाली समुदायमा तितेपाती तेलको उपयोगिताबारे थाहा नभएकाले यसको प्रयोग निकै कम रहेको छ ।
तितेपातीको तेल उत्पादन सुरु भएसँगै स्थानीय ठाउँमा पातीको अभाव भएको छ । स्थानीयले तितेपातीको व्यवसायिक खेती गरेर पनि राम्रो कमाउन सक्ने सम्भावना रहेको सेन्टरले जनाएको छ ।
उच्च परिमाणमा तितेपातीको तेल उत्पदन गरी विदेश पठाउन सके स्थानीय स्रोत साधनको उपयोगसँगै स्थानीयले घर गाउँमै रोजगारी प्राप्त गर्न सक्ने छ । हिमालयन हर्ब सेन्टरले बिस्तारै ठूलो परिमाणमा तितेपातीको तेल उत्पादन गर्ने लक्ष्य लिएको छ ।
