
पूर्णपुष्टि, जेठ २९ गते ।
आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज स्थगित भएको छ । कोरोना भाइरसको कारण स्कटल्याण्डमा हुने भनिएका त्रिकोणात्मक सिरिज क्रिकेट बोर्डले स्थगित गरेको जनाएको छ ।
बोर्डले विज्ञप्ति निकाल्दै नवौँ चरणका खेलहरु स्थगित भएको जनाएको हो । स्कटल्याण्ड क्रिकेटको आग्रहपछि आईसीसीले सिरिज स्थगित गरेको जनाएको छ । प्रतियोगितामा नेपाल, नामिबिया र स्कटल्याण्डले जुलाई ४ देखि ११ सम्म खेल्ने तालिका थियो ।
सन् २०२३ को एकदिवसीय विश्वकपको छनोट प्रक्रियाको रुपमा रहेको यो प्रतियोगिता अब कहिले हुन्छ भन्नेमा आईसीसीसँग समन्वय गरेर मिति तोक्ने जनाइएको छ । आईसीसी प्रतियोगिता प्रमुख क्रिस टेट्ले विभिन्न देशले कोरोनाको कारण विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएकोले त्यसको असर प्रतियोगितामा परेको जनाएका छन् ।
यसअघि कोरोनाकै कारण नेपालले नामिबियामा खेल्ने त्रिकोणात्मक सिरिज पनि आईसीसीले स्थगित गरेको थियो । यो सिरिज नामिबियामा अप्रिल २० देखि २७ मा हुने तालिका थियो । स्कटल्याण्डमा नेपाल, नामिबिया र घरेलु टिमले दुईरदुई एकदिवसीय खेल खेल्ने कार्यक्रम रहेको थियो ।
यस्तै जुन ९ देखि १६ मा पीएनजीमा हुने नेपाल, पीएनजी र युएईको सिरिज पनि अर्को सूचना नआउँदासम्मका लागि स्थगित भएको छ । आईसीसीले विश्वकप च्यालेञ्ज लिग बी अन्तर्गत युगाण्डामा अगस्ट ३ देखि १३ मा हुने प्रतियोगिता पनि स्थगित गरेको छ । यो प्रतियोगितामा बर्मुडा, हङकङ, इटली, जर्सी र केन्याको सहभागिता रहने तालिका थियो ।
साथै मलेसियामा हुने भनिएको आईसीसी मेन्स टी–२० विश्वकपको दोस्रो चरणको छनोट पनि कोरोनाको कारण स्थगित भएको छ । यो जुन २६ देखि जुलाई २ ताखिरमा हुने तालिका थियो ।
