Saturday, June 20News That Matters

त्रियुगा, १६ नं. वडाकाे संक्रमण यसरी चेनब्रेक भयाे : काेराेना विरूद्धका कदमहरू -०१

  • भोटराज राई

विश्व कोरोना महामारी कुनै बेला कथा झै लाग्दथ्यो । तर, आज हर नेपालीले आफैले, आफ्नै ठाउँमा भोग्नुपर्दा कथा हैन यथार्थ अनुभुती भएको छ ।

यो महामारीबाट विश्वको कुनै देश अछुतो रहेन । त्यसै प्रकार यो देशमा हाम्रो उदयपुर जिल्ला पनि अछुतो रहेन । कोरोना महामारीसंग ठूलै युद्ध लड्नु पर्यो । चार नगरपालिका र चार गाउँपालिका गरी आठ पालिका रहेको उदयपुरले ठुलै क्षती ब्यहोर्नु परेको छ ।

यो खबर तयार हुदासम्म अर्थात २०७८ असार १ गतेसम्ममा कोरोनाका कारण उदयपुरमा ४७ जनाको मृत्यु भइसकेको छ भने जिल्लाको कुल संक्रमितको संख्या १ हजार ७८३ पुगेको छ । त्यसमध्ये १ हजार २५३ जना निको भइसकेका छन् भने ४८३ जना संक्रिय संक्रमित रहेका छन् ।

उदयपुरमा दोस्रो लहरको कोरोना संक्रमित चैत २४ देखि फेला परेको थियो । संक्रमण फैलिदै जाँदा त्यसको एकमहिना पछि वैसाख २५ गतेदेखि स्थानीय प्रशासनले निशेधाज्ञ जारी राखेको छ । यसबीचमा नागरिकहरुलाई कोरोनाबाट जोगाउने प्रयास स्वरुप विविध कदम चालेको पाइन्छ ।

त्रियुगा नगरपालिका वडा नं. १६ वडाको कोरोना विरुद्धको कदमहरुबारे आजको प्रस्तुती  ः

उदयपुरको सबैभन्दा उच्च संक्रमण रहेको त्रियुगा नगरपालिका, सो नगरपालिकाको पनि सबैभन्दा बढि संक्रमण रहेको १६ नम्बर वडा हो । सो वडाको बेल्दोभान कोरोना संक्रमणको पहिलो स्पोट हो ।

बेल्दोभान एउटा नाका जस्तै ठाउँ हो । त्रियुगा नगरपालिकाको वडा नं. १६ अन्तर्गत पर्दछ । वडाको पूर्वीभेग हो । जहाँ जिल्ला सदरमुकाम गाईघाट आवतजावतको हिसावले चहलपहल र जमघट भइरहन्छ । उदयपुरको उत्तर पूर्वी पहाडी भेग र खोटाङसंगको सदियौदेखिको गोरेटो सम्बन्ध । अहिले सवारी सेवासंगै सामान्य ब्यापारिक केन्द्रको रुपमा विकास हुदै गरेको ठाउँ ।

कोरोना महामारीकाबीच त्यस ठाउँमा ज्वरो आउने, टाउको दुख्ने स्वास्थ्य समस्या देखापर्छ । कोरोना संक्रमणको आशंका हुन्छ  । विरामीहरु मध्ये पाँचजनाको परिक्षण गरिदा सबै कोरोना पोजेटिभ पुष्टि हुन्छ । त्यसैको आधारमा वडाभरीकै गाउँगाउँमा परिक्षणको दायरा बढाइन्छ । परिक्षणबाट थुप्रै संक्रमित पुष्टि हुन्छ । सबैलाई आइसोलेट गर्दै वडा सिल गरिन्छ । वडा संयन्त्र पूर्णरुपले कोरोना रोकथाम तथा प्रतिरक्षामा उत्रन्छ । वडाबासीको सहयोग हुन्छ ।

समयमै परिक्षण तथा उपचार, रोकथाम तथा प्रतिरक्षाको काम हुन्छ । फलस्वरुप वडाबासीको जीवन रक्षा सम्भव हुन्छ, भयावहस्थितिबाट त वडा जोगिन्छ । ८० वर्षीय बृद्धसमेतले कोरोनालाई पराजित गर्छन् । तर, दुखद् एकजनाको भने ज्यान गुम्न पुग्छ ।

यी घटना, परिघटनाले एउटा गतिलो सबक सिकाएको छ । कि, कोरोना लाग्दैमा ज्यान गइहाल्दैन तर, लापरवाही गरेमा, परिक्षण र उपचार बेलैमा नगरेमा ज्यानसम्म जानसक्न ।

संक्रमणको नालीबेली

गत वैशाख ३० गते बेल्दोभानका ५ जनालाई त्रियुगा नगरपालिकामा लगियो र कोरोना परिक्षण गरियो । पाँचैजना पोजेटिभ देखिए । यो कुराले सिंगो वडालाई झस्काएन मात्र, समुदायस्तरमै कोरोना फैलिएको कुरा पनि पुष्टि गर्यो ।

त्यसको भोलीपल्ट नै आधारभुत विद्यालय बेल्दोभानमा २३ जनाको परिक्षण गर्दा १० जना संक्रमित पुष्टि भयो । वडाको पश्चिमी क्षेत्रलाई समेटेर सुकौरामा जेठ ४ गते २६ जनाको परिक्षण गर्दा १५ जना पोजेटिभ आए । जेठ १० गते फेरी सुकौरामै ४१ जनाको परिक्षणमा २५ जना पोजेटिभ देखिए ।

गाउँमा ज्वरो आउने तथा अन्य संकास्पदहरुको पहिचान गर्दै परिक्षणको दायरा बढाइयो । जेठ १२ गते सुकौरामा ३९ एन्टिजेन र २० पिसिआर गरी ५९ जनाको परिक्षणमा २० जना पोजेटिभ देखिए । जेठ १६ गते बेल्दोभानमा ५५ जनाको परिक्षणमा १३ जना, जेठ २० गते ३२ जनाको परिक्षणमा ११ जना, जेठ २५ गते सुकौरामा २६ जनाको परिक्षणमा २ जना, जेठ २८ गते ३२ जनाको परिक्षणमा १३ जना र असार १ गते ४९ जनाको परिक्षणमा २२ जना पोजेटिभ देखिए ।

वडाध्यक्ष मानबहादुर राईको पहलका कारण पटक पटक वडामा परिक्षण राखियो । अध्यक्ष राईसहित वडा जनप्रतिनिधिहरु अहोरात्र खटिए । महामारीको बेला जनताकै सेवामा खटिदा खटिदै अध्यक्ष राई र त्रियुगा नगर कार्यपालिका सदस्यसमेत रहेकी महिला वडासदस्य गोमा कार्कीसमेत संक्रमित हुन पुगे । उनीहरु मात्र भएनन् उनीहरुको परिवारका सदस्यहरुसमेत संक्रमित भए । सदस्य कार्कीको श्रीमान्को ज्यान नै गुम्न पुग्यो ।

होमआइसोलेशन बाट नै कोरोना विरुद्ध वडा संयन्त्रलाई परिचालन गरे । वडा संयन्त्रका सदस्यहरु अहोरात्र खटिए ।

कोरोनाले आक्रान्त बनाएको १६ नम्बर वडा, कसरी जटिलताको विन्दुदेखि सामान्य भयो ? कठोर र कठिन स्थितिबाट कसरी जोगाइयो ?

जबजब, परिक्षण हुदै थियो तवतब संक्रमित बढ्दो थियो । यसको मतलब, कोरोना भित्रभित्रै समुदायमा फैलिसकेको थियो । खासगरी गाउँमा विवाह, ब्रतबन्ध, छेवर, पास्नी, भोजभतेर आदिका कारण कोरोना फैलिएको थियो ।

विवाहमा सहभागिहरुमा ज्वरो आउने, टाउको दुख्ने समस्या ब्यापकरुपले देखा पर्यो । वडा अन्तर्गतका गाउँगाउँमा यो समस्या फैलिएको थियो । वैशाख ३० गते सुरुमा ५ जनामा संक्रमण देखिए लगत्तै वडा सिल गरि मानवीय चहलपहल बन्द गरियो । वडा अन्तर्गतका बजार, पसल, यातायात सबै बन्द गरियो । योसंगै वडाको पहलमा नगरपालिकाबाट पर्याप्त एन्टिजेन किट र स्वास्थ्यकर्मीको टोली उपलब्ध गराई परिक्षण भयो ।

संक्रमितहरुलाई होमआइसोलेशनमा राखियो । स्वास्थ्य समस्या वा लक्षण देखिएकालाई तत्काल एम्बुलेन्समार्फत संस्थागत आइसोलेशनमा लगियो । वडाले होमआइसोलेशनमा रहेकाहरुलाई स्वास्थ्य सामग्री, औषधी, स्वास्थ्य उपचार तथा परामर्श, मनोबिमर्शको ब्यवस्था मिलायो । संक्रमितलाई संस्थागत आइसोलेशन तर्थात कोेरोना अस्पताल लैजाने काममा  अध्यक्ष राई आफै खटिए । त्यसैसिलसिलामा उनी संक्रमित पनि भए ।

सबै गाउँटोलमा निगरानी तथा संकास्पद तथा लक्षण देखिएकाको परिक्षण गर्न वडा सफल भयो । संक्रमण फैलन नदिन सबैलाई सचेत र सतर्क बनाउने काम गरिरह्यो । वडाबासीहरुले घरमै बसेर साथ दिए । पसल, ब्यापार, ब्यवसायी, कृषि हुनेहरुले बसै बन्द गरेर सहयोग गरे । निशेधाज्ञको पालना गर्दै सरकारले तोकेको स्वास्थ्य मापदण्ड पुरा गरे । जसको कारण पछिल्लो समय वडाको स्थिति सामान्य बन्दै गएको छ । जेठ १२ गते संक्रमण पुष्टि भएका वडाध्यक्ष राई र सदस्य कार्की दुबैले होमआइसोलेशनबाटै कोरोना जितिसकेका छन् ।

संक्रमितहरुको अवस्थाबारे थप जानकारी

वडाले गाउँमै दश पटकसम्म परिक्षण राख्दा ३४३ जनाको परिक्षण भयो । जसबाट ११२ जना संक्रमित फेला परे । त्यसबाहेक नगरपालिका, जिल्ला र जिल्ला बाहिरका अस्पतालमा विभिन्न समयमा परिक्षण हुदा १४ जना संक्रमित पुष्टि भएका हुन् । समग्रमा १४९ महिला र २११ पुरुष गरी ३६० जनाको परिक्षणबाट ५६ महिला र ७० पुरुष गरी १२६ जना संक्रमित पुष्टि भएको हो ।

संक्रमितहरु मध्ये हाल ५२ जना निको भइसकेका छन् । १ जनाको मृत्यु भयो । ७२ जनाको होमआइसोलेशनमा छन् भने जटिल अवस्थाको एकजना अस्पतालमा उपचार चलिरहेको छ ।

वडाको कुल ३६० संक्रमित मध्ये १ जनाको मृत्यु भयो । ३६ वर्षिय टंकनाथ कार्कीको मृत्यु भएको हो । उनी मृतक वडा महिला सदस्य गोमा कार्कीको पति हुन् । जेठ १७ गते परिक्षणमा संक्रमण पुष्टि भएको कार्कीलाई बचाउन लाख कोशिल गर्दा पनि सफल भएन । संक्रमण भएको भोलीपल्ट नै उनलाई कोरोना अस्पताल लगिएको थियो । मृतक कार्कीको आप्mनै लापरवाही र परिक्षणमा ढिलाईका कारण निमोनिया भएर ज्यान भएको हो । उनलाई विराटनगरस्थित कोशी कोभिड अस्पतालमा आइसियुदेखि भेन्टिलेटरसम्मको उपचार गरिएको थियो । अन्ततः जेठ २९ गते राती दुखद निधन पछि आप्mनै घर सुकौरा ल्याएर अन्त्यष्टि गरियो ।

विपद्मा वडालाई साथ, सहयोग

भुगोल र जनसंख्याको हिसावले जिल्लाको सबैभन्दा ठुलो त्रियुगा नगरपालिकालाई सबैले सुगम भनेर चिन्दछन् । तर, १६ वटा वडाहरु मध्ये तीनवटा पुरापुरी पहाडी भुभाग छ । त्यसै मध्येको एउटा १६ नं. वडा हो । यहाँको जनजीवन पनि यस्तै सामान्य स्तरको छ । विपन्न बर्गको बसोबास बढी रहेको छ । यस्तो ठाउँमा कोरोना संक्रमण फैलिए पछि रोगले भन्दा भोकले मर्ने स्थिति जन्मियो । यस्तो अवस्थामा विपन्न वर्गलाई वडा स्वयम्ले खाद्यन्न तथा पोेषिलो खानेकुरा उपलब्ध गरायो भने विभिन्न सामाजिक संस्थाहरुले पनि सहयोग गर्यो ।

एउटा महामारी वा विपत्ति आइपर्दा त्यसले पार्ने सामाजिक, आर्थिक असर त छदैछ, त्यसले जनजिवीकालाई नै ठूलो असर पर्याउछ । ब्यापार, ब्यवसाय, खेतीपाती, विकास गतिविधि, वालवालिकाको शिक्षा जस्ता महत्वपूर्ण कुराहरु हुन नपाउदाको असर सामान्य हुदैन । तरपनि विपद्संग लड्को विकल्प छैन । यी सबै कुरा भन्दा नागरिकको जीवनरक्षा सबैभन्दा महत्वपूर्ण हो । यहि हिसावले वडा लागी परेको देखिन्छ । साथै यस्तो बेला एक आपसमा साथ लिनुदिनु र एकजुट भएर लड्नु नै सफलता रहेछ । यो कुरामा पनि वडाको भुमिका सफल भएको छ ।

कोरोनाबाट डराउने हैन, सचेत र सतर्क बनौं
नडराउनु भनेको लापरवाही गर्नु हैन । राम्ररी कुरा बुझौं
यो लडाइ हामी आफ्नै बानी, ब्यवहार र भुमिकाबाट जित्न सकिन्छ ।
त्यसैले काँही, कतै लापरवाही, खेलाची भैरहेको छ भने आजैबाट त्यो बानीलाई त्यगौं ।
यतिबेला सहयोग र सद्भावको ठूलो खाँचो छ । एकता र सामाजिक भावना जागृत गरौं ।
अन्तमा फेरी पनि, कोरोनाप्रति हामी सबै सचेत र सतर्क बनौं ।

(नोटः यस विशेष रिपोर्टका लागि सहयोगी त्रिनपा १६ वडालाई विशेष धन्यवाद ! याे र यस्तै सामग्रीकाे भिडियो हेर्नका लागि तलको लिंकमा जानुहोला ।)
https://www.youtube.com/channel/UCwnVxvlEJsYJ5Sl8PdmhKGg