
पूर्णपुष्टि, बैशाख १७
कोरोना संक्रमणको बृद्धि सँगै देशको बिभिन्न स्थानहरुमा निषेधज्ञा गर्नु पर्ने भएको छ । केहि जिल्लाहरुमा निषेधाज्ञा कार्यन्वयनमा आईसकेको अवस्था छ भने केहिले कार्यन्वयन गर्दै गरेको अवस्था छ ।
उपत्यकामा हिजै बाट निषेधज्ञा सुरु भएको छ । गृहमन्त्रालयबाट प्राप्त विवरणमा आजसम्म १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञको घोषणा भएको छ ।
बाँके लगायतका केही जिल्लाले यसअघि नै आदेश जारी गरेका थिए भने धेरै जिल्लाले आजबाट लागू हुनेगरी एक हप्ताका लागि अत्यावयक बाहेकका गतिविधि गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेका छन् ।
सबैभन्दा बढी प्रभावित भएको बाँके जिल्लाले वैशाख १३ गतेबाट निषेधको आदेश जारी गरेको थियो। उक्त आदेश २० गतेसम्म जारी रहने छ। त्यसपछि थप्ने अधिकारसमेत प्रजिअलाई नै रहेको छ।
सुर्खेत जिल्लाले वैशाख १४ गतेबाट लागू हुनेगरी आदेश जारी गरेको थियो। आदेश यही वैशाख २१ गते राति १२ बजेसम्म जारी रहने छ। काठमाडौँ उपत्यकालगायतका ११ जिल्लाले आज बिहानदेखि लागू हुनेगरी आदेश जारी गरेको ।
कुनै जिल्लाले बिहान ६ बजेदेखि नै लागू गरेका छ भने कुनै जिल्लाले राति १२ बजे (भोलि बिहान) बाट आदेश कार्यान्वयनमा लैजाँदै छ।
मन्त्रालयबाट प्राप्त विवरणअनुसार आज काठमाडौँका तीनै जिल्ला (काठमाडौँ, ललितपुर, भक्तपुर) ले बिहान ६ बजेदेखि नै निषेधाज्ञा जारी गरेको छ ।
उक्त आदेश यही वैशाख २२ गते राति १२ बजेसम्म कायम रहने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
यसरी आदेश जारी गर्ने अन्य जिल्लामा कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान र सुनसरी रहेका छन् ।
