
पूर्णपुष्टि, असोज २४
देशभर चिसो बढ्दै गएको छ । गत १० दिनमा मात्रै देशभरको न्यूनतम तापक्रम १ देखि १० डिग्री सेल्सियससम्म घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति आकाश खुल्ला भएकाले बिहान चिसो बढेको हो । सामान्यतया आकाशमा राति बादल लाग्दा पृथ्वीले छोडेको ताप जमिनमै आउने भएकाले बिहान न्यानो नै हुने तर आकाश खुल्ला भए पृथ्वीको ताप आकाशमै हराउँदा जमिन सेलाएर बिहान चिसो बढ्ने महाशाखाले जनाएको छ ।
अघिल्लो बिहीबार ३४.५ डिग्री सेल्सियस मापन गरिएको विराटनगरको हिजोको न्यूनतम तापक्रम २४.५ डिग्रीमा झरेको महाशाखाले जनाएको छ । त्यस्तै अघिल्लो बिहिबार न्यूनतम तापक्रम १२.५ डिग्री सेल्सियस मापन गरिएको जुम्लाको तापक्रम हिजो ६.२ डिग्री सेल्सियसमा झरेको छ ।
त्यसैगरी हिजोको न्यूनतम तापक्रम १४.५ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डौको अघिल्लो बिहीबारको तापक्रम २० डिग्री सेल्सियस रहेको थियो । अरु ठाउँको पनि तापक्रम घट्दै गएको छ । अब पानी पर्ने प्रणाली खासै सक्रिय नभएकाले बिहान बेलुकी चिसो बढ्दै जाने महाशाखाले जनाएको छ ।

