
पूर्णपुष्टि, भदौ २५
धरहराको चौधौँ तलाको भुई ढलानको काम सकिएको छ । चौधौँ तलाको (सियर वाल) अर्थात् गोलो गारोको ढलान गत शनिबार सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
देशव्यापी रुपमा लगाइएको लकडाउन हटेपछि धरहरामा धमाधम काम भइरहेको छ । निषेधाज्ञाको बेलामा निर्माण सामग्रीको अभाव नभएकाले काम धमाधम भएको प्राधिकरणले जनाएको छ ।
हरेक १४ दिनमा धरहराको एक तला ढलानको काम भइरहेको प्राधिकरणको दाबी छ । धरहरा २२ तलाको हुनेछ । बाहिरबाट भने धरहरा ११ तलाको देखिनेछ । धरहरामा टावर निर्माणको काममध्ये ६५ प्रतिशत सकिएको प्राधिकरणले जनाएको छ । तर समग्र धरहरा पुनर्निर्माणको काम भने करिब ४२ प्रतिशत भइसकेको छ ।
लकडाउन खुलेपछि धरहरा पुनर्निर्माणमा करिब डेढ सय कामदारले नियमित काम गर्दै आएका छन् । गत चैत ११ गतेदेखि सरकारले लकडाउन गरेसँगै धरहराको पुनर्निर्माणमा खटिएका कामदार घर गएका थिए ।
काठमाण्डौमा लकडाउन खुकुलो भएपछि मात्रै कामदारलाई ल्याइएको थियो । उनीहरुको कोरोना परीक्षण गरी काममा खटाइएको जनाईएको छ ।
२०७२ साल वैशाख १२ गतेको भूकम्पले धरहरा ढलेको थियो । भूकम्प गएको तीन वर्षपछि धरहरा पुनर्निर्माणको काम सुरु भएको थियो ।

