उदयपुर, फागुन १८ गते ।
उदयपुरका प्रवेशद्धारको रुपमा रहेको त्रियुगा शान्तिधामलाई धार्मीक स्थलको रुपमा विकास गर्नु पर्ने सरोकारवालाहरुले बताएका छन् । सदरमुकाम गाईघाटमा रहेको धार्मिक तथा रमणिय स्थल शान्तिधाम बहुसाँस्कृतिक र बहुधार्मिक क्षेत्रको रुपमा विकास गर्न छुट्टै गुरुयोजना बनाउनु पर्ने सरोकारवालाहरुले बताएका हुन् ।
त्रियुगा शान्तिधाम ब्यावस्थापन समितिले आईतबार आयोजना गरेको बृहद सार्वजनिक वहस कार्यक्रममा सहभागिहरुले धार्मीक स्थल बनाउनु पर्ने सुझाव दिएका थिए । नगरको गरिमा र पहिचान झल्किने गरी सुरु गरिएको शान्तिधाम सवैको साझा धरोहरको रुपमा रहेको बताएका छन् ।
त्रियुगा नदी किनारामा रहेको शान्तिधामको रमणीय स्थललाई धार्मिक पर्यटनको गन्तब्य स्थल बनाउन ठोस नीति र कार्यक्रमसहितको गुरुयोजना बनाउन आवश्यक रहेको प्रदेश सांसद विमल कार्कीले बताए । शान्तिधामलाई आध्यात्मिक केन्द्र बनाएर धार्मिक पर्यटनको विकास गर्नु पर्ने उनले बताए ।
सांसद कार्कीले भने “ यस शान्तिधामको विकासमा थप टेवा पु¥याउने उद्देश्यले चालु वर्षमा ५० लाख रुपैँया बजेट ब्यावस्थन गरे ।, ‘पौराणिक कालदेखि नै त्रियुगा सभ्यताको वर्णन भएकाले पुराणहरुमा भएको र भनिएका सवै विषयहरुको खोजी गरी संरक्षण गर्नु पर्दछ ।”
यो सवैको साझा धरोहर भएकोले यसको बहुआयामिक विकासका लागि त्रियुगा नगरपालिका लागि परेको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए । त्रियुगा सभ्यता र विकाससँगै त्रियुगा शान्तिधामको विकास गर्ने उदेश्यले डिपिआर निर्माण गरी यस क्षेत्रलाई धार्मिक पर्यटनको सूचना केन्द्रका रुपमासमेत स्थापित गर्ने नगर सरकारको लक्ष्य रहेको उनले बताए । जिल्लाकै एउटा गतिलो धार्मिक गन्तव्य स्थलका रुपमा विकास गर्न त्रियुगा नगरपालिकाले आगामि वर्षको बजेटमा राम्रो स्थान दिने तयारी गरीरहेको मेयर चौधरीले बताए ।
चार विगाहा १० कठ्ठा जग्गामा त्रियुगा शान्तिधाम स्थापना गरिएको समितिका अध्यक्ष गिरिराज खतिवडाले बताए । उजाड बगरलाई हरियाली बनाउँदै बहुधार्मिक र पर्यटकीय क्षेत्रकारुपमा स्थापित गर्न चारफीट अग्लो बुद्धमूर्ति प्रतिस्थापन गरिएको उनले बताए ।
उदयपुरमा सोबास गर्ने विभिन्न जातजातीलाई सम्बोधन गर्ने बहुसांस्कृतिक झल्को दिने सम्पदाहरुको भौतिक संरचना निर्माण गर्ने योजना अनुरुप शिवजी, गणेशजी, सूर्यदेवता, विष्णु र दुर्गा भगवतीसमेत पाँच देवि देवताको पाञ्चायन मन्दिर निर्माणा गरी देवताहरुको मूर्तिमा प्राँणप्रतिष्ठा गरेर नियमित पूजाआरधना गर्दै आएको अध्यक्ष खतिवडाले बताए ।
बजेट अभावमा शान्ति धामले पूर्णता पाउन सकेको छैन । चन्दादाताको भरमा यसको विकास गरिदै आएको अध्यक्ष खतिवडाले बताए । करिव २१ करोड रुपियाँको लागतमा निर्माण सम्पन्न हुने त्रियुगा किनाराको आर्यघाट स्थित बृहत त्रियुगा शान्तिधाममा मृतआत्माको हरेक वर्ष श्रीमद्भागवत सप्ताह महापुराण लगाईने र त्यसबाट संकलित रकम शान्ति धामकालागि आवश्यक बिभिन्न भौतिक संरचनाहरु निर्माणमा खर्च गरिने योजना रहेको उनले बताए ।
गौसला, श्मसानेश्वर महादेको मन्दिर, संस्कृतपाठशाला, बृद्धाश्रम, सुविधासम्पन्न शौचालय, धर्मशाला, संतसंघ, पुराण, क्रियापुत्री र योगा भवन लगायतका विभिन्न संरचनाहरु निर्माण गर्ने लक्ष्य रहेको समितिले जनाएको छ ।
