Wednesday, May 20News That Matters

नक्कली सरकारी कर्मचारी बनेर ठग्ने १ जना पक्राउ

पूर्णपुष्टि, चैत ६ 

सुर्खेतमा नक्कली सरकारी कर्मचारी बनेर ठगी गर्ने एक जना पक्राउ परेको छ । छेडागाड नगरपालिका–२, डेढकुलाका २७ वर्षीय दीपक बूढाक्षेत्री पक्राउ परेको हो ।

प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले उनलाई बिहीबार वीरेन्द्रनगरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नागुनाथ गाउँपालिका हुम्ला लेखिएको परिचयपत्र देखाएर ठगी गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । नागुनाथ नाम गरेको गाउँपालिका नेपालमै छैन ।

नेत्रकुमारी पौडेलको जाहेरीका आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंले बुढालाई पक्राउका लागि पत्राचार गरेको थियो ।

महानगरीय अपराध महाशाखाबाट आएको पत्र अनुसरा पक्राउ गरी काठमाडौं पठाएको प्रहरीले जनाएको छ । मुद्दा ठगीको भएपनि घटनाको विस्तृत विवरण भने नआएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

पक्राउ परेका बुढा तीन वर्षअघि पनि दैलेखको सहायक प्रमुख जिल्ला अधिकारी हुँ भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा पक्राउ परेको थियो ।

उनको साथबाट नक्कली सरकारी परिचयपत्र, भ्याली काठमाडौं टेलर्स र न्यू फेसन टेलर्स सुर्खेतमा सिलाउँदै गरेका सरकारी पोशाकसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

सरकारी परिचय पत्र र भिजिटिङ कार्ड देखाएर विभिन्न जिल्लाका प्रहरी कार्यालयमा स्कटिङ समेत माग्ने गरेको पाइएको अपराध महाशाखाले जनाएको छ । बुढाले एक महिलालाई सरकारी जागिर लगाइदिन्छु भनेर समेत रकम लिएको पाईएको प्रहरीले जनाएको छ ।

यसअघि  इलामका एक किशोरलाई पनि सरकारी कर्मचारी भएको बताएर प्रहरीलाई नै झुक्याएको आरोपमा पक्राउ परेको थियो ।