
पूर्णपुष्टि, असोज १५
मुख्य चाडपर्वलाई मध्यनजर गर्दै सरकारले देशभरका ४९ ठाउँमा आजदेखि सुपथ मूल्य पसल खोल्ने भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपोरडिलर तथा घुम्ती सेवामार्फत सुपथ मूल्य पसल सुरु हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । अनलाइन अर्डरमार्फत पनि सुपथ मूल्य पसलका सामग्री खरिद गर्न सकिने जनाईएको छ ।
काठमाण्डौ उपत्यकाका कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुङ्गल, थापाथली, नख्खु, प्रयाग पोखरी, जावलाखेल र भक्तपुरमा सुपथ मूल्यका पसल खुल्दैछन् । काठमाण्डौ उपत्यकाका यी ठाउँसहित देशका मुख्य सहरमा पसल सञ्चालन हुनेछन् ।
उपत्यका बाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लहानलगायतका सहरमा साल्ट ट्रेडिङको सहुलियत पसल सञ्चालनमा आउनेछ ।
त्यस्तै दूग्ध विकास संस्थानले पनि आफ्ना सबै कार्यालय र बिक्री केन्द्रबाट सुपथ मूल्यमा दूग्धजन्य वस्तुको बिक्री गर्नेछ ।
दशैं, तिहार, छठ पर्वलाई लक्षित गरी सञ्चालन हुने सुपथ पसलमा नून प्रतिकिलो १८ रुपैयाँका दरले खरिद गर्न सकिनेछ । तर प्रतिपरिवार चार किलोका दरले मात्रै खरिद गर्न पाइनेछ । यस्तै चिनी प्रतिकिलो ७० रुपैयाँमा खरिद गर्न सकिनेछ । चामलमा प्रतिकिलो पाँच रुपैयाँ छुट हुनेछ ।
यस्तै खसी, बोका, च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ, दालमा प्रतिकिलो पाँच रुपैयाँ, सिमीमा प्रतिकिलो १० रुपैयाँ, फापरमा प्रतिकिलो पाँच रुपैयाँ र सेतो केराउमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिइएको मन्त्रालयले जनाएको छ । सुपथ पसल छठ पर्वको भोलिसम्म सञ्चालन हुनेछ ।

