Monday, June 22News That Matters

नेपालटारमा कृषि मेला प्रदर्शनी

उदयपुर/फागुन, ७

उदयपुर, फागुन ७ गते । उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं ६ नेपालटारमा पहिलोपटक कृषि मेला प्रदर्शनी भएको छ । कृषकहरुलाई प्रोत्साहित गराउने उद्देश्यले पालिकाले ६ र ७ गते दुईदिन प्रदर्शनी मेलाको आयोजना गरेको पालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताउनुभयो ।

अध्यक्ष मगरका अनुसार पहिले पहिले किनेर तरकारी खाने पालिकाका कृषकहरुले अहिले आफैले बारीमा फलाउन थालेको र केहीमात्रामा विक्री वितरण गरेर आयआर्जनसमेत थालिएको छ । यसैलाई मध्येनजर गर्दै थप आयआर्जन बढाउन, ब्यवसायिकरण तथा आधुनिकीकरण गर्दै अगाडी बढाउने उद्देश्य पालिकाको रहेको छ ।

प्रदर्शनीमा पालिकाको आठ वटै वडाका कृषकहरुले विविध कृषिजन्य सामग्रहीको प्रदर्शनी गरेका थिए । तीनसय ४५ कृषकहरुले आप्mना उत्पादन स्टलमा राखेका थिए । उनीहरुले आआप्mना बारीमा फलाएका आलु, साग, भान्टा, मुला, तरुल, गोलभेडा, काउली, सिमि लगायतका तरकारी जन्य बस्तुहरु प्रदर्शनीमा राखेका थिए । त्यस्तै फलफुलतर्फ मेवा, केरा, अनार लगायत, दलहन, तेलहनतर्फ  उखु, तोरी, कफी, अलैची, मास लगायत रहेका थिए ।

उत्साहका साथ गाउँगाउँबाट आएका कृषकहरुले पहिलोपटक  आफ्नै ठाउँमा प्रदर्शनीको अवसर पाएको बताए । “पहिले पहिले सदरमुकाममा कृषि प्रदर्शनी भन्ने सुन्थ्यौं, यसपाली आफ्नै ठाउँमा हुदा हामी खुसी छौं ।” नेपालटारका कृषक तुलसी भट्टराईले भन्नुभयो “प्रदर्शनीले हामीलाई कृषिकर्मका लागि प्रोत्साहित गरेको छ ।”

प्रदर्शनीमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने कृगषकहरुलाई क्रमशः नगद एकहजार, सातसय, पाँचसय र तीनसयसहित प्रमाणपत्र प्रदान गरिएको पालिकाले जनाएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई उदयपुरका कर्मचारी गणेशबहादुर कार्कीले प्रदर्शनीले कृषकहरुलाई उत्साहित मात्र हैन बेमौसमी तरकारी तथा बाली तर्फ जागरुक भई बाह्रैमात्र आयआर्जन गर्ने वातावरण सिर्जना गरेको बताउनुभयो ।

उदयपुरगढी गाउँपालिका, कृषि विकाश शाखाको आयोजना तथा वाल विकास संस्था नेपाल, प्रधानमन्त्री आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई, प्रयास हेल्भेटास नेपाल र वडा नं. ६ को सहयोगमा भएको प्रदर्शनी सोचेभन्दा राम्रो भएको पालिका उपाध्यक्ष सानुकुमारी राउतले बताउनुभयो ।

फोटोफिचर

प्रदर्शनीमा राखिएका कृषि उत्पादनहरु