
पूर्णपुष्टि, साउन २१
नेपालमा कोरोना भाईरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ । आज बिहान पर्साको वीरगञ्ज महानगरपालिका–१५ निबासी ४६ वर्षका पुरुषको वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको जनाईएको छ ।
गत शुक्रबार कोरोना पुष्टि भएका ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि गतराति वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पताल भर्ना गरिएको थियो ।
यस्तै झाडापखलाले सिकिस्त भएपछि उपचारको लागि वीरगञ्जको नेशनल मेडिकल कलेजमा लैजाने क्रममा गत सोमबार मृत्यु भएकी पर्साकै पोखरीया नगरपालिका–९ की १८ वर्षकी किशोरीको मृत्युपछि गरिएको परीक्षणमा कोरोना पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।
योसँगै नेपालका कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ६० पुगेको हो । यसबारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी गराउन बाँकी छ ।
अहिलेसम्म २१ हजार ९ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १५ हजार २६ जना उपचारपछि निको भएका छन् ।
