Sunday, April 19News That Matters

नेपालमा फेरी वायु प्रदूषण बढ्न थाल्यो

पूर्णपुष्टि, चैत २४

नेपालमा फेरी वायु प्रदूषण बढ्न थालेको छ । केही दिनअघि केही सुधार भए पनि काठमाण्डौसहित देशका विभिन्न ठाउँको वायु प्रदूषण फेरि बढ्न थालेको वातावरण विभागले जनाएको छ ।

विश्वकै प्रदूषित सूचीको एक नम्बरमा काठमाण्डौँ रहेको छ । नेपालको वायु प्रदूषणको अवस्था मापन गर्ने एक्यूआई अहिले पनि ३ सयभन्दा माथि रहेको छ ।

विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ ।

डब्ल्यूएचओले ३ सय १ भन्दा माथि पुगे घातक हुने जनाएको छ । काठमाण्डौको सिंहदरबार क्षेत्र अहिले सबैभन्दा धेरै प्रदूषित देखिएको छ । त्यस्तै नेपालगञ्ज, पोखरालगायत सहरहरुको एक्यूआई पनि हानिकारक अवस्थामा रहेको छ ।

वायु प्रदूषण फेरि बढेसँगै यसले श्वासप्रश्वासमा समस्या हुने लगायत स्वास्थ्यमा समस्या देखा पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन जनस्वास्थ्यविद्ले आग्रह गरेका छन् । काठमाण्डौसहित देशका विभिन्न ठाउँमा तुवाँलो लागेजस्तो भएर वातावरण धुमलिएको र प्रदूषित भएकाले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन जनस्वास्थ्यविद्हरुको आग्रह छ ।

यसअघि देशभरको वायु प्रदूषण उच्च बिन्दुमा पुगेसँगै सरकारले चैत १३ गतेदेखि ४ दिन विद्यालय बन्द गराएको थियो ।