Monday, April 27News That Matters

नेपाली भूमी कालापानी क्षेत्रमा भारतले सुरक्षाकर्मीको सङ्ख्या बढायो

पूर्णपुष्टि, साउन २०

नेपाली भूमी दार्चुलाको कालापानीसम्मको सिमा क्षेत्रमा भारतले सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाउँदै लगेको छ । तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा भारतले हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी बढाएको हो ।

अहिले दार्चुलादेखि लिपुलेकसम्मको सडकखण्डमा दैनिक सयौँको सङ्ख्यामा एसएसबी र सेनाका सवारीसाधन परिचालन गरिएको छ । सीमा क्षेत्रमा गाडीमार्फत भारतले गस्ती बढाएको स्थानीयबासीहरुले बताएकाछन् ।

पहिला भारतीय सुरक्षाकर्मीको गाडी यस सडकखण्डमा यसरी आउदैनथ्यो । तर अहिले दैनिक सयौँ गाडी ओहोरदोहोर गरिरहेको छ । भारतीय सुरक्षाकर्मीले तम्बाकु क्षेत्रमा गत असार महिनामा नेपालतिर बाटो बनाउँदै गर्दा स्थानीयवासीलाई गालीगलौचसमेत गरेको स्थानीयबासीहरु बताउँछन् ।

नेपाल सरकारले घाटीबगरमा नेपाली सेनाको क्याम्प राखेपछि भारतले आफ्नो क्षेत्रमा सडक चौडा पार्ने काम गरेको छ । भारतले उपकरण लगाएर उक्त क्षेत्रमा सडक विस्तार गरिरहेको छ ।

नेपाली सैनिक क्याम्प बसेको पारिपट्टि भारतले विस्फोटक पदार्थ विस्फोट गराउँदै आएको छ । भारतले लिपुलेक जोड्ने सडक निर्माणको क्रममा तम्बाकु, घाटीबगर, दोपाखे, पोला, बुदीलगायतका क्षेत्रमा महाकालीबाट नेपाली भू–भागमार्फत् डोजर ल्याइ नेपाली अतिक्रमित भूमीमा लगेर बाटो खनेको छ ।

नेपाली भू–भागमा डोजर ल्याउँदा नेपाली पक्षसँग भारतले कुनै समन्वय गरेको थिएन । अहिले नेपाली सुरक्षाकर्मीको गस्ती आइदिएपछि राम्रो भएको स्थानीयबासीहरु बताउँछन् ।

नेपाल सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरासहित गुञ्जी, नावी र कुटी गाउँसहितको भूगोल समेटेर नक्सा सार्वजनिक गरेपछि झन् भारतीय पक्षले यस क्षेत्रमा सुरक्षाकर्मी दैनिक परिचालन गरेको छ । अहिले गुञ्जीदेखि कालापानी, नावीढाङ्गसम्म सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराएको स्थानीयवासीहरुले बताएका छन् ।

अहिले यस क्षेत्र अति संवेदनशील भएको छ । भारतीयले अहिले कालापानी भन्दा तल आइ नेपाली सुरक्षाकर्मी र स्थानीयवासीलाई आवत जावतमा रोक लगाउने गरेको छ ।

नेपालले व्यासको छाङ्गरुमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म स्थापना गर्ने निर्णय गरेको छ भने कालापानी नजिकैको कौवा र तिङ्करमा समेत सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गर्दैछ ।

नेपाली सेनाले घोरेटोबाटो र सडक निर्माणका लागि भन्दै यस क्षेत्रमा शिविर राखेर बसेको छ । व्यासको छाङ्गरुमै नेपाली सेनालाई राख्न प्रस्ताव अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय र जिल्ला सुरक्षा समितिमार्फत समेत गएको छ ।