Wednesday, June 17News That Matters

नेपाली सेनाद्वारा ५५५ मादल बजाएर विश्व कीर्तिमान

पूर्णपुष्टि,फागुन ८ । नेपाली सेनाले एकैचोटि ५ सय ५५ वटा मादल बजाएर विश्व रेकर्ड राखेको छ । सेना दिवसको अवसर पारेर उक्त रेकर्ड कायम गरिएको नेपाली सेनाले जनाएको छ ।

शनिबार टुँडिखेलमा आयोजित समारोहमा सेनाले एकैचोटि ५ सय ५५ वटा मादल बजाएर प्रदर्शन गरेको थियो । कार्यरथी उपरथी सागरबहादुर थापाको परिकल्पना रहेको यो योजनाको फिल्ड कमान्ड भने उनै सुनामले गरेका थिए । यो रेकर्ड कायम गर्नका लागि सेनाको बाध्यबाधक टोलीले झन्डै साढे दुई महिना अभ्यास गरेको सुनाम बताउँछन्।

‘कम्पोज गर्दा सुरूमा सबै पृतनाबाट ४० जनाको टोली झिकायौं। उक्त टोलीलाई संगीतकर्मी खड्ग बुढा मगरले लगभग दुई साता तालिम दिनुभयो। पछि त्यही टोलीलाई दश वटा समूह बनाएर पाँच सय बढीलाई सिकायौं,’ उनले भने, ‘लगभग साढे २ महिना अभ्यास गर्यौं।’

आफू बाध्यबाधक रूपमा दुई दशक बढी काम गरेको भएपनि ‘वर्ल्ड बुक अफ रेकर्ड’ मा कीर्तिमान कायम गर्ने भनेपछि दबाब महशुस भएको सुनाम बताउँछन्।

उनले अभ्यासको क्रममा टोलीमा ३५ जना कहिल्यै मादल नछुएको पनि रहेको उल्लेख गर्दै भने, ‘त्यत्रो टोलीलाई एकसाथ कमान्ड गर्न गाह्रो नै थियो। फेरि एउटा मादलले पनि उल्टो बजाइदियो भने पूरै कार्यक्रम नै बिग्रिन्थ्यो। अर्कोकुरा रेकर्ड राख्ने भनेपछि सानोतिनो हिसाबले पनि गर्नुभएन। त्यसैले धेरै नै मेहनत गर्नुपर्यो।’यो रेकर्डले नेपाली मौलिक बाजालाई विश्वमा चिनाउन थप मद्दत पुर्‍याउने हुँदा आफूलाई पनि खुसी लागेको उनले बताए।

मादल नेपाली समाजमा अत्यधिक प्रयोगमा आउने बाजामध्ये प्रमुख मानिन्छ । नेपाली मौलिक चाड दशैँ, तिहार, सक्रान्ति, देउसी, भैलो, जात्रालगायतका अरु विभिन्न चाडपर्वमा सबै जाति र समुदायले अपनत्व ग्रहण गर्ने साझा बाजाका रूपमा मादललाइ लिने गरिन्छ ।