
पूर्णपुष्टि, भदौ २५
पछिल्लो ५० वर्षमा वन्यजन्तुको सङ्ख्या दुई तिहाइभन्दा बढीले घटेको एक अध्ययनले देखाएको छ ।
५० वर्षमा विश्वमा चरा, माछा, स्तनधारी, उभयचर र घस्रने जनावरको सङ्ख्या दुई तिहाइ भन्दा धेरैले घटेको वन्यजन्तु कोष डब्ल्यूडब्ल्यूएफको नयाँ प्रतिवेदनले देखाएको हो ।
सन् १९७० यता विश्वभर यस्ता जीवको सङ्ख्यामा औसतमा ६८ प्रतिशतले कमी आएको संरक्षणसम्बन्धी वैज्ञानिकले बताएका छन् । वैज्ञानिकले यो कमीलाई विध्वंसकारी भनेर व्याख्या गरेका अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।
चाहिने भन्दा धेरै माछा मारिनु, जङ्गलमा डढेलो लाग्नु र वन्यजन्तुको बसोबास रहेको क्षेत्र विनाश हुनु जस्ता कारणले जीवनको सङ्ख्यामा गिरावट आएको प्रतिवेदनले देखाएको छ । यो एकदमै डरलाग्दो अवस्था भएको जनाईएको छ ।
प्रकृतिमाथि मानिसले गरेको यस्तो विनाश यसअघि कहिल्यै नदेखिएको प्रतिवेदनमा उल्लेख गरेको छ ।

