पूर्णपुष्टि, मङ्सिर १८
नेपाल पत्रकार महासंघ उदयपुरले सामाजिक विकृतिविरुद्ध समाचार लेखेका पत्रकार गजेन्द्र राईलाई पक्राउ गरिएकोप्रति आपत्ति प्रकट गर्दै विनासर्त रिहाईको माग गरेको छ ।
आठदिन अघि पक्राउ परेका पत्रकार राईलाई रिहाइको माग गर्दै महासंघ शाखाले आज सरकारलाई ध्यानाकर्षण पत्र पठाएको छ । महासंघको नेतृत्वमा जिल्लाका पत्रकारहरुको टोलीले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको हो ।
समाचार लेखेकै आधारमा पत्रकार राईलाई साईबर क्राईम मुुद्दामा प्रहरीले पक्राउ गरी काठमाडौं लगेको छ । हाल हिरासतमा रहेका राईलाई रिहा नगरिए देशभरका पत्रकार सशक्त आन्दोलनमा उत्रने तीनदिने अल्टिमेटमसहितको चेतावनी दिइएको छ । उनी नेपाल पत्रकार महासंघ शाखा उदयपुरका निवर्तमान सहसचिव, रेडियो नेपालका सम्बादाता तथा निगरानी पोष्ट अनलाईनका सञ्चालकसमेत हुुन् ।

“नातामा ससुरा–बुुहारीबीच अनैतिक सम्बन्धको आरोप लगाउँदै स्थानीयले दिएको प्रमाण, अभिब्यक्ति र सामाजिक रोहबरमा गरेको आरोपितद्वयको स्वीकारयुुक्त कागजसमेत गरी प्रसस्त आधार प्रमाणसहित प्रकाशित भिडियो सामग्री नितान्त समाचारकै विषय भएकाले समाचारका पात्रहरु उर्मिला राउत र युवारज कार्कीको मिलेमतोमा परेको साईबर क्राईम ऐन कार्यान्वयन गर्ने काम नितान्त पत्रकारलाई तह लगाउने बदनियतपूर्ण कार्य हो भन्ने हाम्रो ठहर छ ।ध्यानाकर्षण पत्रमा ” भनिएको छ ।

