पूर्णपुष्टि, बैशाख १७
नेपालमा परिक्षणगरिएको मध्ये ८० प्रतिशतमा कोरोना संक्रमण पुष्टि देखिएको छ । बाँके जिल्लाको नेपालगन्जमा परिक्षण गरिएको मध्य ८० प्रतिशत सम्मलाई संक्रमण पुष्टि देखिएको छ । नेपालगन्जको घरघरमै संक्रमितहरु फेला पर्न थालेको छ ।
प्रत्येक दिन परीक्षण गरिएका स्वाबका नमुनामध्ये ८० प्रतिशतसम्ममा संक्रमण पुष्टि भइरहेको हो ।
दिनहुँ ठूलो संख्यामा संक्रमित थपिन थालेपछि यहाँका सरकारी र निजी अस्पतालले बिरामीको चाप थेग्न सकेका छैनन् । अधिकांश संक्रमित होम आइसोलेसनमा छन् । यहाँस्थित प्रयोगशालाका अनुसार संक्रमितमध्ये धेरै सहरकै छन् ।
नेपालगन्ज उपमहानगरका भृकुटीनगर, कोरियनपुर र कारकाँदोका घरघरमै संक्रमित छन् । यी प्रमुख आवास क्षेत्र हुन् । यहीँ बसोबास गरिरहेका व्यक्ति संक्रमणको सिकार हुन थालेपछि स्थानीयमा त्रास बढेको छ । स्थानीयले संक्रमण ‘भुसको आगो’ झैं फैलिरहेको बताएका छन् ।
संक्रमितको सम्पर्कमा आएका र कोरोनासँग मेल खाने लक्षण देखिएपछि बिहीबार भेरी अस्पतालको प्रयोगशालामा २ सय ८८ जनाको स्वाब परीक्षण गरिएको थियो । तीमध्ये २ सय १४ जनामा संक्रमण देखियो । बिहीबार परीक्षण गरिएकामध्ये साढे ७४ प्रतिशतमा संक्रमण देखिएको हो । नयाँ संक्रमितमध्ये १ सय ३२ पुरुष र ८२ महिला छन् । गत वैशाख १३ गते ३६ घण्टामा २ सय ८८ नमुनाको परीक्षण गर्दा २ सय ३३ जनामा संक्रमण पुष्टि भएको थियो । परीक्षण गरिएकामध्ये करिब ८१ प्रतिशतमा संक्रमण देखिएको हो ।
यो तथ्यांकले नेपालगन्जका घरघरमा कोरोना संक्रमण भेटिएको सहजै अनुमान गर्न सकिन्छ । लक्षण देखिएकाको मात्रै परीक्षण गर्दा पनि ठूलो संख्यामा संक्रमण पुष्टि हुन थालेको प्रयोगशालाले जनाएको छ । ‘पछिल्लो दुई सातामा बाँकेमा ३ हजार १ सय ७४ जना सक्रिय संक्रमित छन् । तीमध्ये २ हजार ५ सयभन्दा बढी नेपालगन्जका रहेका नेपालगन्ज उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताउनभुयो ।
