
पूर्णपुष्टि, पौष १२
बेलायत, नाईजेरिया लगाएतका देशमा देखा परेका पहिलेका भन्दा खतरनाक कोरोना भाईरस संसारका बिभिन्न देशहरुमा फैलिन थालेका छन् ।
ब्रिटिस वैज्ञानिकहरूले गरेको पछिल्लो अध्ययन अनुसार कोरोनाको यो नयाँ प्रकार संसारले हाल सामना गर्दै आएको भाइरसभन्दा बढी संक्रामक भएको पत्ता लगाएका छन् ।
यो भाइरस यसअघि भेटिएको भाइरसभन्दा ५६ प्रतिशत संक्रामक भएको अनुमान गरिएको छ ।
जापान, स्पेन, फ्रान्स र क्यानडामा केही मानिसहरूमा पहिले भेटिएभन्दा धेरै संक्रमण जोखिम भएका कोरोना भाइरस फेला पारेको छ ।
यी मध्ये धेरै संक्रमित बेलायत यात्राबाट आएकाहरूसँग सम्बन्धित छन् । ब्रिटेनमा हालै मात्र कोरोनाको नयाँ किसिमको संक्रमण पुष्टि भएको छ र सोका कारण लन्डन र दक्षिण इङ्ल्याण्डमा लकडाउन गरिएको छ ।
नयाँ भाइरस आफ्नो मुलुकमा ब्रिटेनबाट भित्रिएको भन्दै फ्रान्सले बेलायतसँग सीमा जोडिएको इण्लिस च्यानलबाट हुने मानव आवागमनमा रोक लगाएको छ ।
नयाँ किसिमको कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै विश्वका थुप्रै मुलुकले ब्रिटेनबाट आउने यात्रीमाथि प्रतिबन्धको घोषणा गरेका छन् ।
ब्रिटेनमा भएजस्तो संक्रमण निगरानी विश्वका थोरै राष्ट्रमा मात्र भएकाले नयाँ प्रकारको कोरोना भाइरस दुई सातासम्म संसारका अन्य ठाउँमा पहिचान हुनु अगावै पुगिसकेको ठानिएको छ ।
नयाँ प्रकारको कोरोना भाइरस पहिचान भएपछि जापानले गैरआवासिय विदेशी नागरिकको जापान प्रवेशमा रोक लगाएको छ। सोमबार मध्यरातबाट लागु हुने यो रोक जनवरीको अन्त्यसम्म कायम हुने जापानको राष्ट्रिय टेलिभिजन एनएचकेले जनाएको छ ।
त्यस्तै स्पेनको राजधानीमा नयाँ कोरोना भाइरस भेटिएको जानकारी त्यहाँका स्थानिय अधिकारीले दिएका छन् ।
हालसम्म चार जनामा यसको पुष्टि भएको छ भने अन्य तीन जनालाई शंकाको घेरामा राखिएको छ।
भेटिएका मध्ये कम्तीमा दुई जना हालै बेलायतबाट फर्किएकाहरू हुन् भने अन्य उनीहरूका नातेदारहरू हुन् ।
फ्रान्समा नयाँ किसिमको संक्रमणका संक्रमित शुक्रबार पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
फ्रान्सका अधिकारीका अनुसार संक्रमण पुष्टि भएका व्यक्ति ब्रिटेनमा बस्दै आएका फ्रेन्च नागरिक हुन्। उनी डिसेम्बर १९ मा लन्डनबाट आएका थिए ।
त्यस्तै क्यानडाको ओन्टारियोका अधिकारीहरूले शनिबार दुई जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।
संक्रमितहरू दम्पति हुन र उनीहरूको कुनै यात्रा विवरण छैन ।
भाइरस स्वरूप परिवर्तन गर्नु सामान्य हो र हालसम्म परिवर्तित भएका भाइरसहरूमध्ये अधिकांश त्यति खतरनाक छैनन् ।
तर बेलायतमा पुष्टि भएको नयाँ प्रकार भने २३ वटा म्युनटेसन भएको भाइरस हो, जसमा धेरैजसोले नयाँ किसिमले संक्रमण फैलाउने देखाएको छ।
खोप विज्ञहरू हाल उपलब्ध खोपहरू यी नयाँ भाइरससँग पनि लड्न सक्षम हुनेमा विश्वस्त छन् यध्यपी यसको परीक्षण पुष्टि हुनु जरूरी छ । हाल उपलब्ध खोप नयाँ प्रकारको भाइरससँग लड्न सक्षम भए नभएको जाँच चलिरहेको छ ।
युरोपियन युनियनका सदस्य राष्ट्रहरूले आइतबारबाट फाइजर(बायोएनटेकले बनाएको खोप लगाउन सुरू गर्दैछन्। हंग्रेरीले शनिबारबाट नै खोप अभियान सुरू गरिसकेको छ।
यसैगरी अन्य नयाँ प्रकारका भाइरसहरूको पनि पहिचान भएको छ। तीमध्ये एउटा दक्षिण अफ्रिकामा भेटिएको छ भने अर्को नाइजेरियामा भेटिएको छ ।
नयाँ प्रकार भेटिएसँगै बेलायतले दक्षिण अफ्रिकाबाट हुने बेलायत यात्राम प्रतिबन्ध लगाएको छ। दुई जनामा त्यहाँ भेटिएको भाइरसको संक्रमण पुष्टि भएपनि यात्रामा प्रतिबन्ध लगाइएको हो।
यसैगरी जर्मनी र सिङ्गापुरमा पनि नयाँ प्रकारको कोरोना भाइरस भेटिएको छ भने डेनमार्कले सो भाइरस आफ्नो मुलुकमा भित्रिए(नभित्रिएकोमा निगरानी गरिरहेको छ। निगरानीका क्रममा त्यहाँ नोभेम्वर १४ देखि डिसेम्बर १४ को अवधिमा ३३ जनामा नयाँ किसिमको संक्रमण पुष्टि भएको डेनिस अधिकारीहरूले जनाएका छन् ।
अमेरिकाले भने हालसम्म नयाँ किसिमको कोरोना भाइरसका संक्रमित भेटिएको पुष्टि गरेको छैन्।
