Monday, July 13News That Matters

प्रदेश १ नयाँ सरकारका लागि ताप्लेजुङकी निर्मला लिम्वु निर्णयक

पूर्णपुष्टि, मंसिर २७
दलहरु अहिले ७ ओटै प्रदेशहरुमा सरकार निर्माणको कसरतमा तिव्र लागि परेको छ । यसै सन्दर्भमा प्रदेश नं १ मा पनि सरकार निर्माणमा दलहरु लागिरहेको अवस्था छ । प्रदेश नं १ मा कुनै पनि दल अथवा गठबन्धनको एक्लो बहुमत नहुँदा सरकार कसरतका लागि थप चुनौती बनेको हो । यहाँ पाँचदलीय गठबन्धन र एमाले सँगको गठबन्ध दुवैको बहुमत नपुग्ने देखिन्छ । यसो हुँदा जसपाकी निर्मला लिम्वु प्रदेश नं १ मा निर्णयक बनेकी छिन् । पहिलो चोटी प्रदेश सांसद यात्रामा रहेकी लिम्वु ताप्लेजुङवासी हुन् । प्रदेश १ सरकारमा उनि जता उभिइन्, उतैतिर नयाँ सरकार बन्ने सम्भावना देखिएको छ।

निर्मलाको प्रदेश सभा प्रवेश जनता समाजवादी पार्टी ९जसपा० को एक्ली सांसदका रूपमा हुँदैछ। प्रदेशमा नयाँ सरकार बनाउने निर्णायक मत नै उनको हुने भएपछि निर्मलालाई रमाइलो संयोग जुर्ने लगभग निश्चित भएको छ। यही निर्णायक भूमिकासहित उनी ताप्लेजुङबाट ‘माननीय’ बनेर विराटनगर आउँदैछिन्।

प्रदेशमा प्रत्यक्षतर्फ एउटा पनि सिट नजितेको जनता समाजवादी पार्टीले समानुपातिकबाट प्रदेश सभामा एउटा मात्र सिट हात पारेको छ। त्यसमा लिम्बू चयन हुने पक्कापक्की भइसकेको छ। अहिलेसम्मको अवस्थामा जसपा सांसद निर्मला जता उभिने हो, उतैतिरको गठबन्धनलाई बहुमत पुग्ने अवस्था भएका कारण जसपा प्रदेशमा निर्णायक अवस्थामा छ।

९३ सदस्यीय प्रदेश सभामा एमालेबाट ४० जना सांसद छन्। जसमा राप्रपाका ६ जनाको साथ एमालेलाई रहने हो भने उसलाई बहुमत पुर्‍याउन अझै एक सिट पुग्दैन। ४७ जनाले बहुमत पुग्ने अवस्था प्रदेशमा छ। राप्रपाले अहिलेसम्म आफू सत्तामा जान नहतारिने बताउँदै आए पनि सरकार बन्न निर्णायक हुने अवस्थामा उसको समर्थन प्रदेशमा एमालेलाई हुने सम्भावना बलियो छ।

जसरी एमालेलाई १ सिटले बहुमत पुग्ने अवस्था छ ठीक त्यसैगरी सत्ता गठबन्धनलाई पनि बुहमत सिद्ध गर्न १ सिट नै आवश्यक छ। कांग्रेससँग २९ सिट रहेको प्रदेशमा माओवादीसँग १३ र एकीकृत समाजवादीसँग ४ सिट छ। यसरी सत्ता गठबन्धनलाई पनि बहुमत पुर्‍याउन जसपाको साथ अनिवार्य छ।

जसपा अनिर्णित रहेसम्म प्रदेश १ सरकारको नेतृत्व कसले गर्ने भन्ने होड खुला नै रहिरहनेछ। जसपाले यो निर्णय नलिएकै कारण नयाँ सरकारको नेतृत्व कसको हातमा पुग्ने भन्ने अन्योल कायमै छ।
प्रदेश १ मा पहिचानको राजनीतिक मुद्दा पेचिलो रूपमा उठ्दै आएको छ। माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरूले अघिल्लो संसद्का बेला पहिचानमा आधारित रहेर प्रदेश नामकरण गर्नुपर्ने अडान राखेका थिए भने एमालेले पहिचानको विषयमा असहमति प्रकट गर्दै आएको छ। अहिले एमालेकै गठबन्धनमा रहेको राप्रपा पनि पहिचानप्रति सकारात्मक छैन। त्यसैले निर्मला ‘भने पहिचान पक्षधर’ भनेर सत्ता गठबन्धनका दलहरूलाई संकेत गरेको बुझ्न सकिन्छ। उनी आफैंले भने वर्तमान सत्ता गठबन्धनतिर उभिन पाए खुसी हुने संकेत गरेकी छन्। ‘मैले अघि पनि भनें पार्टीको निर्णय नै मुख्य कुरा हुन्छ’, उनले भनिन् ‘तर, मलाईचाहिँ पहिचानको पक्षमा उभिएका शक्तिहरूसँग गठबन्धन भए राम्रो हुन्छ भन्ने लागेको छ।’