
पूर्णपुष्टि, बैशाख ३१ गते ।
हातहतियार तथा खरखजनासम्बन्धी मुद्दामा प्रहरी हिरासतमा रहेका म्याग्दीको एक वडाध्यक्ष धरौटीमा रिहा भएको छ । रघुगङ्गा गाउँपालिका–६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुजा दुई लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा भएको हो ।
मंगलबार जिल्ला अदालत म्याग्दीका न्यायाधीश माधवेन्द्रराज रेग्मीको एकल इजलासले शेरपुजालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
शेरपुजाले सामाजिक सञ्जाल फेसबुकमा आफूसँग गोली रहेको स्टाटस लेखेपछि गत चैत्र ३० गते प्रहरीले घर खानतलासी गर्दा एक थान बाह्रबोरको गाली बरामद गरेको थियो ।
हातहतियार राख्ने अनुमति नलिएका शेरपुजाको साथमा रहेको गोली अवैध भएको पुष्टि भएपछि प्रहरीले हातहतियार तथा खरखजना मुद्दा चलाएको थियो । जिल्ला सरकारी वकिल कार्यालयले शेरपुजाविरुद्ध सात वर्ष कैद र ७० हजार जरिबानाको माग दावी गरेको थियो ।
शेरपुजा विसं २०७४ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उमेद्वार बन्नुभएको थियो । कानूनी व्यवस्था अनुसार फौजदारी अभियोग लागेकाले अदालतबाट अन्तिम फैसला नभईन्जेलसम्म पद निलम्बन हुनेछ ।
