पूर्णपुष्टि, कार्तिक २७ गते ।
प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा वीरगञ्जबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको जीतपुर सिमरा उपमहानगरपालिका– ७ बस्ने मनोज कुमार श्रीवास्तवलाई पक्राउ गरेको हो ।
वीरगञ्जको घण्टाघरमा क्रान्तिकारी युवा संगठनको नामबाट मधेसी दलका नेताहरुको विरोधमा नारा लेखिएको ब्यानर टाँगेको थियो । उम्मेदवारलाई व्यक्तिगत लाञ्छना लगाएर टाँगिएको ब्यानर प्रहरीले हटाउने क्रममा श्रीवास्तवले प्रहरीलाई अभद्र व्यवहार गरेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
केही युवाले मधेशकेन्द्रित दलका उम्मेदवारलाई लाञ्छना लगाएर नारा लेखिएको ब्यानर टाँगेर प्रदर्शन गरेका थिए । प्रदर्शनमा पर्सा क्षेत्र नं १ (२) मा प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएका बिशाल कुमार सर्राफ, तानविर अन्सरी लगायत सहभागी थिए ।
