Friday, July 10News That Matters

फेरी कोरोना संक्रमण सुरु

पूर्णपुष्टि, पुष ८
कोरोना संक्रमण फेरी संक्रिय हुन थालेको छ । चिन लगायत बिभिन्न देशहरुमा कोरोना फेरी फर्किन थालेका छन् । छिमेकी देशहरुमा संक्रमण बढे सँगै नेपालमा पनि उच्च सतर्कता थाल्नु पर्ने देखिएको छ । स्वास्थ्य मन्त्रालयले चीन, भारत, दक्षिण कोरिया, अमेरिकालगायतका देशमा संक्रमणमा वृद्धि भएको जनाउँदै सबै प्रवेश बिन्दुका हेल्थ डेस्क र स्वास्थ्य संस्थाले आवश्यक स्क्रिनिङ, निगरानी, सतर्कतालगायत आवश्यक तयारीका लागि सतर्क गराएको छ।
चीनमा ओमिक्रोनको सब–भेरिएन्ट ‘बीएफ–७’ का कारण नयाँ लहर आएको जनाउँदै धुलिखेल अस्पतालका जिनोम सिक्वेन्स् ल्याबका प्रमुख डा.राजीव श्रेष्ठ भन्छन्, ‘यो भेरिएन्ट भारतको गुजरात र उडिसा राज्यमा पछिल्लो ६ महिनामा ४ जनामा पुष्टि भइसकेको छ ।’ सेल होस्ट एन्ड माइक्रोब जर्नलमा हालै प्रकाशित एक रिपोर्टअनुसार मुख्य भेरिएन्टको दाँजोमा ‘बीएफ–७’, सब–भेरिएन्टमा ४।४ गुणा बढीे ‘न्युट्रलाइजेसन रेसिस्टेन्ट’ क्षमता पाइएको छ । जसका कारण खोप वा प्राकृतिक संक्रमणबाट मानिसको शरीरमा विकसित कोरोनाविरुद्घको एन्टिबडीले ‘बीएफ–७’ लाई नष्ट गर्न कम सक्षम देखिएको छ । यसको संक्रमणबाट जोगिन बुस्टर डोजमा लिन आवश्यक रहेको विज्ञहरू बताउँछन् ।

संक्रमण देखिएका मुलुकसँग समन्वय गर्दै नेपालले पनि निगरानी बढाउन सुरु गरिएको समेत मन्त्रालयले जनाएको छ । यद्यपि, चीनलगायत मुलुकमा पुष्टि भएको ओमिक्रोनको नयाँ सव–भेरिएन्ट ‘बीएफ–७’ नेपालमा पुष्टि नभएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा। समीरकुमार अधिकारीले बताए ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७९ लाख ७२ हजार ७ सय ९१ जनाले मात्र खोपको अतिरिक्त मात्रा लिएका छन् । त्यस्तै कुल जनसंख्याको ७६।५ प्रतिशत अर्थात् २ करोड २३ लाख २४ हजार ९ सय ३३ जनाले खोपको पूर्ण मात्रा लिएका छन् । एक मात्रा खोप लगाउनेको संख्या २ करोड ३२ लाख ८ हजार ४ सय ८३ छ । यो कुल जनख्याको ७९।५ प्रतिशत हो । मन्त्रालयका अनुसार खोप अभियान सुरु भएयता ५ करोड ३५ लाख ६ हजार २३ सय ७ मात्रा खोप लगाइसकिएको छ ।
देशभर बिहीबार एन्टिजेन र पीसीआर गरी १ हजार १ सय ९० नमुना परीक्षण गर्दा एक जनामा मात्र संक्रमण देखिएको छ । १५ जना सक्रिय संक्रमित छन् । नेपालमा मुख्य रूपले ओमिक्रोनकै विभिन्न सब–भेरिएन्ट देखिएका छन् ।