पूर्णपुष्टि, पुष १२ । सर्लाहीका अधिकांस युवाहरु धान र अन्य हिउँदे बाली घर भित्र्याएपछि रोजीरोटीका लागि छिमेकी मुलुक भारततर्फ जान थालेको छ । हिउँद यामभर गाउँघरमा खेती किसान गर्ने गरेको र दिगो पनको रोजगार नपाएपछि युवाहरुको ठुलो समूह रोजगारको सिलसिलामा पन्जाब, हरियाणा र दिल्ली लगायतको ठाउँमा जान थालेको हो । जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने पालिका हिजोआज युवाविहिन बनेको पाईन्छ ।
विष्णु गाउँपालिका–३, का स्थानीय नितेशजङ्गका अनुसार भारतमा पुगेर युवाहरुले ज्यामी र खेतबारीको काम गर्ने जानकारी दिए । गाउँ घरमा रोजगार भपाएपछि आफ्ना धेरै साथीभाईहरु रोजगारको सिलसिलामा भारत गएको यादवले बताए । यादवले भन्नुभयो, “धान भित्र्याएपछि गाउँघरमा खासै काम हुँदैन, काम नभएपछि गाउँका दाजुभाइ भारत गइरहनुभएको छ। अब उहाँहरू हिउँदभर मजदुरी गरेर फर्किनुहुन्छ।” सीमावर्ती क्षेत्रमा पर्ने विष्णु, गोडैता, बलरा, मलङ्गवा, पर्सासहित कविलासी, चन्द्रनगर, हरिपूर्वा, रामनगरलगायत पालिकाका अधिकांश पुरुष रोजगारीको खोजीमा भारत पुग्ने गरेको छ । ग्रामीण भेगका सिमित युवा भने यहीँ उखु काट्न व्यस्त देखिन्छ ।
बलरा नगरपालिकाका नगरप्रमुख रामाशङ्करप्रसाद कुशवाहाले सीमावर्ती क्षेत्रका पुरुष वर्षांैदेखि मजदुरीका लागि भारत पुग्ने प्रचलन नै रहेको बताउनुभयो। नगरप्रमुख कुशवाहाले भन्नुभयो, “यहाँबाट बर्सेनि काम खोज्दै युवाको ठूलो समूह भारत पुग्छ, अधिकांशको व्यवहार त्यसैगरी चलेको छ।” खाडी मुलुकमा रोजगारीका लागि नगएका युवा चाररपाँच महिनाको काम खोज्दै भारत जाने गर्छन्।
