Thursday, July 2News That Matters

बेनी–जोमसोम सडक सञ्चालन

पूर्णपुष्टि, असोज १६

हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक १८ दिनपछि सञ्चालनमा आएको छ ।
म्याग्दीको अन्नपूर्ण–३ दानाको रुप्से, काभ्रे तथा मुस्ताङको सिमाना घोप्टेभिरमा खसेको पहिरोले सडक बगाएपछि गत भदौ २९ गतेदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा आवतजावत बन्द भएको थियो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका निर्माण कम्पनीका डोजर परिचालन गरेर पहिरो पन्छाउने, नयाँ बाटो खोल्ने र डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको आयोजनाले जनाएको छ ।

भिरमा चट्टान फुटाउनका लागि नेपाली सेनाको सहयोगमा विष्फोटक पदार्थसमेत प्रयोग भएको थियो । सडक अवरुद्ध हुँदा मुस्ताङमा आवतजावतका साथै खाद्यान्न, निर्माण सामग्री ढुवानी र स्याउ बजार पठाउन समस्या भएको थियो ।
सडक खुलेपछि ठाउँठाउँमा गाडी परिवर्तन गर्नुपर्ने समस्या हटेको आयोजनाका स्थानीय सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए जनाईएको छ । यसअघि असार २६ गतेदेखि अवरुद्ध सडक भदौ ९ गते ४५ दिनपछि सञ्चालन आएको थियो ।

मुस्ताङवासीको जनजीवनलाई सहज बनाउन, विकास निर्माणका कामलाई गति दिन र करोडौँ मूल्यका स्याउ समयमै बजार पु¥याउनका लागि बेनी–जोमसोम सडकमा नियमित सवारी सञ्चालन भएको छ ।