
पूर्णपुष्टि, भदौ २४
बेलायतमा सार्वजनिक स्थानमा ६ जना भन्दा धेरै मानिस भेला भए जरिवाना तिर्नु पर्ने छ । कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले आउँदो सोमबार अर्थात १४ सेप्टेम्बरदेखि ६ जना भन्दा धेरै भेला हुन नपाउने निर्णय कार्यान्वयन गर्न लागेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।
सरकारले गरेको निर्णय उल्लङ्घन गर्ने र प्रहरीको आग्रहलाई नटेर्नेलाई एक सय देखि ३२ सय युरोसम्म जरिवाना तिराइने जनाईएको छ । उक्त जरिवाना रकम नेपालीमा चार लाख ४४ हजार रुपैयाँ हुन आउँछ ।
यसबारेमा थप जानकारी आज प्रधानमन्त्री बोरिस जोनसोनले दिने संचारमाध्यमहरुले जनाएको छ । यसअघि कोरोना संक्रमण रोक्न प्रहरीलाई विशेष रुपमा अधिकार दिएर भेलाहरु रोक्नुपर्ने बारिसले बताएका थिए ।
बेलायतमा होटल तथा रेष्टुरेन्ट खोल्न पाइने छ । तर एउटै समूहमा ६ जना भन्दा धेरै बस्न पाइनेछैन । ६ जना भन्दा धेरै भेला हुन नपाउने नियम स्कुल, कार्यस्थल र अन्तिम संस्कारका समारोहमा भने लागू हुनेछैन ।

