
पुर्णपुष्टि, असोज २९
पर्सामा एक नाल भरुवा बन्दुकसहित चार युवा पक्राउ परेका छन् । ठोरी गाउँपालिका–४ बस्ने ३४ वर्षीय कुमार लामा, ३५ वर्षीय सुनबहादुर लामा, ३२ वर्षीय बाबुराम लामा र २५ वर्षीय अमन लामा पक्रउ परेका हुन् ।

उनीहरुको साथबाट १ नाल भरुवा बन्दुक, ४ राउण्ड गोली, १ सय ग्राम बारुद र १ थान खुकुरी बरामद भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।
लागूऔषध गाँजा लिएर आउँदै छ भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले औराही खोलाको बगर क्षेत्रबाट उनीहरुलाई हिजो राति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीलाई देखेपछि उनीहरुले एक राउण्ड फायर गर्दै भाग्न खोजेको थियो । त्यसको जवाफमा प्रहरीले पनि दुई राउण्ड हवाई फायर गरेर नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारै जनामाथी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

