
पूर्णपुष्टि,फागुन ५
भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा एउटै स्कुलमा पढ्ने एक जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।
पक्राउ पर्ने व्यक्ति सनातन माविमै कक्षा ११ मा अध्ययनरत १८ वर्षीय दिनेश भट्ट हुन् । दिनेश भागरथीका छिमेकीसमेत रहेका प्रहरीले बताएको छ । प्रहरी स्रोतका अनुसार दिनेशले प्रहरीसमक्ष विद्यालयबाट फर्कंदा भागरथीको बलात्कार र हत्या गरेको स्विकारिसकेका छन् । दुई साता लामो अनुसन्धानपछि प्रहरीले घटनामा दिनेशको संलग्नता पुष्टि गरेको थियो । उनले पारिवारिक प्रतिसोधका कारण भागरथीको हत्या गरेको बयान दिएका छन् ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो । वडा नम्बर ३ स्थित सनातनधर्म माविमा कक्षा १२ मा अध्यनरत उनी २१ गते बिहान १० बजे विद्यालय गएकी थिइन् । त्यही दिन बेपत्ता भएकी उनको भोलिपल्ट शव भेटिएको हो ।
भागरथीको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्तलाई प्रहरीले अदालत लैजाने तयारी गरेको छ ।
जिल्ला अदालत, बैतडीमा लगेर आरोपी दिनेशलाई हिरासतमा राखेर अनुसन्धानका लागि म्याद लिने प्रहरीको तयारी छ । भट्टविरुद्ध करणी र ज्यान सम्बन्धी कसुर सम्बन्धी मुद्दामा म्याद थप हुनेछ ।
जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार म्याद थप गरेपछि पत्रकार सम्मेलन गरेर घटनाबारे विस्तृत विवरण सार्वजनिक गरिनेछ ।
