Saturday, April 25News That Matters

भारतले उपलब्ध गराएको कोरोना खोप काठमाण्डौँ आईपुग्योे, ५ दिन भित्र सबै जिल्लाहरुमा खोप पुर्याउने

पूर्णपुष्टि,माघ ८

भारतले उपलब्ध गराउने अनुदानको १० लाख डोजको कोरोना खोप बिहिबार नेपाल आईपुगेको छ । ११ बजे बिहान एयर इन्डियाको बिमानले खोप काठमाण्डौँ ल्याएको हो । उपलब्ध भएका खोपलाई सरकारले ५ दिनभित्र जिल्लाका भण्डारणसम्म पु¥याइसक्ने योजना बनाएको छ । खोप लगाउने दिन भने अझै निश्चीत भएको छैन ।

कानुनी, प्रशासनिक, आर्थिक र प्राविधिक प्रक्रिया पूरा गरेर खोप लगाउनका लागि सम्पूर्ण तयारी सम्पन्न भएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने टोलीलाई खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वयंसेविकालाई पनि स्वास्थ्यकर्मीसँगै पहिलो चरणमै खोप लगाइने मन्त्रालयले जनाएको छ । देशभरि ५२ हजार महिला स्वयंसेविकासहित करिब ३ लाख स्वास्थ्यकर्मी रहेको मन्त्रालयको दाबी छ ।

केन्द्रीय भण्डारणबाट दुई दिनभित्र प्रदेशमा र प्रदेशबाट थप दुई दिनभित्र जिल्लास्थित भण्डारण स्थलमा पु¥याउने योजना रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ । बढीमा ५ दिनभित्र जिल्लामा खोप पुगिसक्ने विभागले जनाएको छ  । खोप लगाउन खटिने व्यक्तिलाई तालिम दिन भने अझै बाँकी रहेको र खोप लगाउने स्थानमा पु¥याउनुपर्ने आवश्यक सामान पनि नपठाइएको विभागले जनाएको छ ।

कुल जनसंख्याको ३ प्रतिशत अर्थात् ९ लाख ११ हजारलाई पहिलो चरणमा खोप दिने योजना रहेको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले बताउनुभयो । खोप लगाउने स्वास्थ्यकर्मीको तथ्यांक संकलन भइसकेको र सफाइमा खटिने गाउँपालिका र नगरपालिकाका कर्मचारीको तथ्यांक संकलन भइरहेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

प्रदेश १ को विराटनगरस्थित भण्डारमा पठाइएको खोप प्रदेशका सबै जिल्लाका साथै प्रदेश २ को सप्तरी र सिरहामा पनि वितरण गर्नुपर्ने हुन्छ । विभागका अनुसार भ्याक्सिन चिस्यान भण्डारण विराटनगरमा ९ हजार ७ सय लिटर क्षमताको छ । प्रदेश २ मा भण्डार छैन । प्रदेश २ का अन्य ६ वटा जिल्लामा हेटौंडा भण्डारणबाट खोप व्यवस्थापन हुने विभागले जनाएको छ । हेटौंडामा २ हजार २ सय ५० लिटर भण्डारण क्षमताको चिस्यान छ । वाग्मती प्रदेशको मकवानपुर, सिन्धुली र चितवनमा आवश्यक खोप हेटौंडाबाट वितरण गरिन्छ । वाग्मतीका अन्य १० जिल्लाका लागि भने काठमाडौंको भण्डारणबाट खोप पठाइनेछ ।

कर्णालीमा पनि आफ्नै चिस्यानयुक्त भण्डारण छैन तर विगतदेखि नेपालगन्जबाट वितरण गरिँदै आएको छ । नेपालगन्जमा ७ हजार ५ सय लिटर क्षमताको भण्डार छ । गण्डकी प्रदेशको पोखरामा ९ हजार ७ सय भण्डारण क्षमता छ । यहींबाट प्रदेशका सबै जिल्लामा खोप पठाइनेछ । लुम्बिनी प्रदेशको बुटवलमा ११ हजार २ सय लिटर खोप भण्डारण क्षमता छ । त्यहींबाट जिल्ला अस्पतालहरूमा खोप पठाइनेछ । सुदूरपश्चिम प्रदेशको धनगढीमा ९ हजार ७ सय लिटरको भण्डारण क्षमता रहेको विभागले जनाएको छ ।