Sunday, June 28News That Matters

भारतीय अतिक्रम बारे यूएनका लागि अमेरिकी राजदूतलाई ज्ञापनपत्र

पूर्णपुष्टि, जेठ २७ गते ।

नेपालको भूमि भारतले अतिक्रमण गरेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने क्रममा गैरआवासीय नेपाली संघ, अमेरिकाज क्षेत्रले संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत केली क्राफ्टलाई ज्ञापनपत्र बुझाएको छ ।

राष्ट्र संघ सुरक्षा परिषद्को महत्वपूर्ण देश अमेरिकाको तर्फबाट राष्ट्रसंघका लागि राजदूत रहनुभएकी केलीलाई ज्ञापनपत्र बुझाउँदा यसको विशेष महत्व हुने संघको बुझाइ छ ।

नेपालले हालै सार्वजनिक गरेको लिम्पियाधुरासहितको नक्सासमेत समावेश गरी संघले राजदूत केलीलाई ज्ञापनपत्र बुझाएको एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रीयले जनाएको छ ।

लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र नेपालको भूमि भएको भनी प्रमाणित गर्ने आधारसहितका विभिन्न कागजातका कपीहरु र विगतमा नेपालले प्रचलनमा ल्याएको लिम्पियाधुरासमेत समावेश रहेको नक्सा अङ्कित रु एक सिक्काको कपीसमेत ज्ञापनपत्रमा संलग्न गराइएको क्षेत्रीय संयोजक राजन त्रिपाठीले बताउनुभयो ।

अनलाईन माध्यम मार्फत राजदूत केलीको राजनीतिक सल्लाहकार सँगसमेत अन्तरक्रिया गरिएको जनाईएको छ ।