
पूर्णपुष्टि, भदौ ९
भारतको प्रमुख प्रतिपक्षी दल राष्ट्रिय कांग्रेस अन्तरिम अध्यक्षकै नेतृत्वमा रहने भएको छ ।
पार्टी पूर्णकालिन नेतृत्वको आवश्यकता रहेको आवाज उठेपछि बोलाइएको केन्द्रीय समितिको बैठकले नेतृत्वको बारेमा निर्णय गर्न नसकेको जनाएको छ । निर्णय गर्न नसकेकाले किरब एक वर्षका लागि अन्तरिम अध्यक्षकै नेतृत्वमा रहने भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।
तत्कालिन अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएपछि कांग्रेस अहिले अन्तरिम अध्यक्ष सोनिया गान्धीको नेतृत्वमा चल्दै आएको छ । तर अन्तरिम अध्यक्ष गान्धीसहितका धेरै नेताहरुले नयाँ अध्यक्ष चयन गर्नु पर्नेमा जोड दिए पनि पार्टीले निर्णय गर्न नसकेको जनाएको छ ।
हिजो बेलुकीसम्म चलेको केन्द्रीय समितिको बैठकमा नयाँ नेतृत्वका बारेमा छलफल भए पनि चयन गर्न नसकेकाले अर्को अध्यक्ष चयन नहुञ्जेलसम्मका लागि गान्धीले नै अन्तरिम अध्यक्षको रुपमा पार्टीको नेतृत्व गर्ने भएको जनाईएको छ ।
कांग्रेसमा अझै पनि धेरै नेता तथा कार्यकर्ताहरुले राहुल गान्धीलाई नै अध्यक्ष बनाउनु पर्नेमा जोड दिएका छन् भने उनले अस्वीकार गर्दै आएको जनाईएको छ ।
