
पूर्णपुष्टि, जेठ २२ ।
उदयपुरको सदरमुकाम गाईघाटमा भोलीदेखि विहान ६ देखि ११ बजेसम्म सामाजिक दुरी कायम गर्दै दुध, मासु, तरकारी, खाद्य तथा दैनिक उपभोग्य बस्तुका पसलहरु खुल्न दिने निर्णय भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आज भएको एक बैंठकले कोरोना संक्रमण जोखिमकाबीच पनि नागरिकहरुको जनजीवनलाई केही सहज बनाउन होटेल, लज, रेस्टुरेन्ट, पार्टी प्यालेस, पार्लर, सैलुन बाहेकका खाद्य तथा दैनिक उपभोग्यबस्तुहरुको पसल खुल्न दिने निर्णय भएको हो । निर्णयअनुसार जुत्ताचप्पल, कपडा पसल, हार्डवेयर पसलहरु पनि खुल्न पाउनेछन् ।
सर्बसाधारणले आफुलाई आवश्यक पर्ने कुराहरु विहान ११ बजेसम्ममा खरिदगरी सक्नु पर्ने र ब्यापारीहरुले तोकिएकै समयमा कारोवार गरेर बन्द गर्नुपर्ने जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढा मगरले बताउनुभयो ।
व्यापारीलाई समय पालना गराउने र उपभोक्ताहरुलाई सामाजिक दुरी, मास्क, सेनिटाइजर प्रयोग जस्ता कुराको व्यवस्थापन त्रियुगा उद्योग वाणिज्य संघले गर्ने संघका अध्यक्ष गजेन्द्र भगतले बताउनुभयो । कोरोना संक्रमणप्रति सचेत र सतर्क बन्दै पसल खुलाउन र सामाजिक दुरीका साथ लेनदेन गर्न ब्यापारी र सर्बसाधारणलाई सचेत गराउने भूमिकामा लाग्ने संघका उपाध्यक्ष रमेश रसाईलीले बताउनुभयो ।
लकडाउनको पालना भए नभएको, बजारमा कोरोनाप्रतिको सतर्कता अपनाए, नअपनाएको बारेमा नागरिक समाजले पनि अनुगमन गर्ने नागरिक समाजका अगुवा भरत खड्काले बताउनुभयो ।
लकडाउनको अवज्ञा नदेखिने गरी नागरिकहरुको जनजीविकालाई केही सजह बजाउन र ब्यापारीहरुको मागसमेतलाई सम्बोधन गर्दै भोलीदेखि दैनिक विहानदेखि ११ बजेसम्म खुल्ने बजार, पसललाई सर्बसाधारण स्वयम्ले सचेतपूर्वक व्यवस्थित गर्नमा सहयोग गर्नुपर्ने खड्काले बताउनुभयो ।
भिडभाड नहुने अपेक्षासहित निश्चित समय तोकेर सातैबार पसल खुलाउने निर्णय भएकोे प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले बताउनुभयो । हाल उदयपुरमा काेराेना संक्रमण नथपिएकाे अवस्था छ । ३३ जना संक्रमित भेटिएपछि जेठ २ गते यता जिल्लामा काेराेना संक्रमणकाे अवस्था नियन्त्रित देखिएकाे छ । पुनः जटिल अवस्था देखिएमा प्रशासनले तत्कालै कडाइ गर्ने जनाइएकाे छ ।
त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले सर्बसाधारणको जनजीविकालाई केही सहज बनाउने उद्देश्यले बजार केही खुकुलो पारिएको बताउनुभयो ।
बैंकहरु आइतबारदेखि पुरै खुल्ने
त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले हाल बार तोकेर सञ्चालनमा रहेका त्रियुगा नगरपालिकाभित्रका बैंकहरु आगामी आइतवारदेखि पुरै खोल्ने जानकारी दिनुभएको छ ।
करिब दुईदर्जनको हाराहारीमा रहेका विभिन्न बैंक शाखाहरु लकडाउनको बेला नियमित नखुल्दा भिडभाड हुने गरेको छ । हप्तामा दुइ/तीनदिनसम्म मात्र खुल्दा सेवाग्राहीको अत्याधिक भिड हुने गरेको छ । यसले कोरोनाको जोखिम झनै थपिएको र अहिले स्थिति केही सामान्य देखिएकोले पनि आइतबारदेखि पुरै बार खुलाउने तयारी रहेको मेयर चौधरीले बताउनुभयो । हिजोमात्र नगरपालिकाले सूचना सार्बजनिक गर्दै दैनिक दशवटा बैंक खुल्ने तालिका सार्बजनिक गरेको थियो । त्यसअघि पाँचदेखि सातवटा बैंक मात्र खुल्ने गरेको थियो । अहिले एउटा बैंक हप्तामा तीनदिनसम्म खुल्छ भने यसअघि दुई दिनसम्म खुल्ने तालिका थियो । सबै बैंक पुरै खूल्ने भएपछि सर्बसाधारणले लाईन बसेर भिडभाड हुन नपर्ने अपेक्षा लिइएको छ ।
सवारी चुनौती
प्रसाशनले सर्बसाधारणको जनजीविकालाई मध्येनजर गरेर लकडाउनमा बजार केही खुकुलो पारेपनि सवारी व्यवस्थापनमा चुनौती देखिएको छ ।
नजिकका सार्बसाधारण पैदल हिडेरै किनमेल वा बैंकिङ लगायतका काममा आउनसक्ने भएपनि टाढाका सर्बसाधारणलाई सवारी साधनको आवश्यकता पर्ने स्थानीय विनोद चौधरी बताउछन् ।
प्रशासनले सवारीसाधन सञ्चालनका लागि सर्बसाधारणलाई पास दिन नमिल्ने भएपछि रौतामाई, लिम्चुङबुङ, ताप्ली, उदयपुरगढी लगायतका टाढाका ठाउँबाट आउने सर्बसाधारणलाई समस्या देखिएको छ । पासविना कुदाएको सवारी साधान सुरक्षाकर्मीले नियन्त्रणमा लिने गरेको छ । बजार केही खुकुलो पारिएपछि टाढाका सर्बसाधारणको हकमा सुरक्षा निकायले सवारी सञ्चालनमा व्यवहारिकता पनि हेरिदिन आवश्यक रहेको लिम्चुङबुङका स्थानीय युवा सिमसन राईले बताउनुभयो ।
