
पूर्णपुष्टि, भदौ १८
ललितपुरमा स्थानीय युवा र गुठियारले रातो मछिन्द्रनाथको रथ तान्न थालेपछि पुल्चोकमा प्रहरी र युवाबीच झडप भएको छ ।
रथ तान्न थालेका युवाहरुलाई प्रहरीले रोकेपछि युवाहरुले प्रहरीलाई ढुङ्गामुढा गरेका छन् । युवाहरुलाई रोक्न प्रहरीले केही सेल अश्रुग्यास हानेको छ । युवाहरुले रथ सडकको बीचमा लगेका छन् भने अहिले पनि तनाव भइरहेको प्रहरीले जनाएको छ ।
कोरोना भाइरसको महामारीको जोखिमका कारण स्थानीय प्रशासन र गुठी संस्थानले रथ तान्ने काम रोक्न निर्देशन दिएका छन् । तर मलमास सुरु हुनुअघि अर्थात् असोज २ गतेअघि नै रथलाई बुङ्गमती पु¥याइ सक्नुपर्ने चलन रहेको भन्दै स्थानीय युवा र गुठियारहरुले रथ तान्ने प्रयास गरेका हुन् ।
चैत २७ गतेदेखि रथ निर्माण सुरु हुनुपर्नेमा लकडाउनका कारण असार १० गतेदेखि मात्रै निर्माण सुरु भएको थियो ।
त्यसपछि पटक–पटक रथ तान्न मिति तोके पनि कोरोनाको जोखिम कम नभएकाले सुरु हुन सकेको थिएन ।
युवाहरु रथ तान्न निस्किएपछि अहिले ललितपुर महानगरपालिकामा सरोकारवालाहरुको आपत्कालीन बैठक बसिरहेको जनाईएको छ ।
