Monday, June 22News That Matters

मध्यरातिबाट बिराटनगरमा निषेधाज्ञा सुरु

पूर्णपुष्टि, बैशाख १७

बिराटनगर शनिवार रातिबाट निषधाज्ञा सुरु हुने भएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले राति ८ बजेदेखि बिहान ५ बजेसम्म कोही पनि घर बाहिर निस्किन नपाउने बताए ।

‘अत्यावश्यक सेवा बाहेकका सवारी साधन चलाउन पाइने छैन,’ उनले भने, ‘दैनिक उपभोग्य सामग्री र निर्माण सामग्रीको पसल बिहान ८ बजेदेखि १० बजेसम्म २ घण्टा खोल्न पाइने छ ।’

जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगर, जहदा, बुढीगंगा र कटहरीको वडा १ देखि ४ सम्ममा शनिबार मध्यरातिदेखि एक हप्तासम्म निषेधाज्ञा लगाएको छ ।

महानगरमा दैनिक संक्रमितको संख्या बढ्दै गएकोले जिल्ला संकट व्यवस्थापन समिति बैठकको निर्णयले निषेधाज्ञा लगाउन बाध्य भएको पोखरेलले बताए ।

महानगरमा दैनिक संक्रमित थपिँदै गए पनि सर्वसाधारणले बजारमा भीडभाड गर्न नरोकिएको, विवाह, ब्रतबन्ध जस्ता सार्वजनिक कार्यक्रम नरोकिएकाले समितिले निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।