Tuesday, June 9News That Matters

मलाइ विग्रेको मनपर्छ (कविता)

गोठकृष्ण ठकुरी,उदयपुर

यदि यहाँको समाजमा
दुव्र्यशनीमा फस्नु
विग्रनु हो भने
संधै दुव्र्यशनमा लठ्ठ भइरहने
विष समेत घाँटीमा राख्न सक्ने
महादेव विग्रेको हो
उही देवको देव महादेव भयो
त्यसैले मलाइ विग्रेकाे मन पर्छ

यदि यहाँको समाजमा
घरबारको जिम्मेवारी नलिने
घरबार त्यागेर हिड्नु विग्रनु हो भने
केबल एक शान्तिको खोजीमा
बालबच्चा राज्य घरबार सबैथोक त्यगेर हिड्ने
गौतमबुद्ध विग्रको हो
उही पुज्य छ ।
त्यसैले मलाई विग्रेको मन पर्छ

यदि यहाँको समाजमा
माया प्रेम गर्नु बराला भइहिड्नु
विग्रनु हो भने
सोरसय गोपीनीसँग रासलिला रचाउने
कृष्ण विग्रको हो
जसको उपदेश गितामा हात राखेर कसम खाइन्छ ।
त्यसैले मलाइ विग्रेको मन पर्छ ।

यदि यहाँको समाजमा
धुम्रपान गर्नु, बौलाउनु विग्रनु हो भने
हात जलुनजेल चुरोट खाइरहने
बौलाहा झै हिड्ने लक्ष्मीप्रसाद देवकोटा
विग्रेको हो
जसले नेपाली साहित्य भण्डार भरेर
महाकवि बन्यो
त्यसैले मलाई विग्रेको मन पर्छ

विग्रनु भनेको
लगनशील हुनु हो ।
तथ्य पत्ता लगाउन हो ।
संसारलाइ चकित पार्नु हो ।
केही नयाँ गरेर देखाउनु हो
खोज अनुसन्धान गर्नु हो ।
त्यसैले मलाइ विग्रेको मन पर्छ ।