Tuesday, June 9News That Matters

महिलालाई यौन दुर्व्यवहार गर्ने चिकित्सक पक्राउ

पूर्णपुष्टि, चैत १४

सप्तरीमा महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक चिकित्सक पक्राउ परेको छ ।

राजविराजको छिन्नमस्ता अस्पतालमा कार्यरत डा. राजन जैसवाललाई उपचारका बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

डा. जैसवालले त्यही अस्पतालमा बुधवार जन्मिएकी नन्दकी छोरीलाई उपचार गराउन पुगेकी ३२ वर्षीया महिलालाई अस्पतालकै केबिनमा यौनजन्य दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

डिस्चार्ज भएर घर जाने बेलामा आवश्यक सल्लाहका लागि शिशुसहित एक पटक भेट्नु भनेर डा. जैसवालले भनेपछि भेटन पुगेकी महिलामाथि बालिकालाई जाँच गर्ने बहानामा अश्लिल क्रियाकलाप गरेको प्रहरीले जनाएको छ ।

डिस्चार्ज भइसकेको अवस्थामा पुर्जामा पुनः केही औषधि लेखेर डा. जैसवालले पीडितका पतिलाई औषधि पसल पठाएर केबिनभित्र अश्लिल क्रियाकलाप गरेपछि प्रतिकार गर्दा बिरामीका कुरुवा र स्वास्थ्यकर्मी जम्मा भएको पीडितले  बताएका छन् ।

डा. जैसवालले भने आफूले शिशुलाई आमाले स्तनपान गराउने तरिका सिकाउन खोजेको बताएको प्रहरीले जनाएको छ ।

पीडितले शुक्रवार नै जिल्ला प्रहरी कार्यालयमा बलात्कार प्रयासको उजुरी दिएको छ । आरोपितलाई हिरासतमा राखि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अस्पतालले तत्कालै डा. जैसवाललाई निलम्बन गरेको अस्पतालले एक विज्ञप्ति जारी गरी गर्दै जनाएको छ ।