
पूर्णपुष्टि, साउन २७
ओखलढुङ्गामा मोटरसाइकलसहित भिरबाट खसेर एक जनाको घटनास्थमै ज्यान गएको छ, भने अर्का एकजना घाइते भएका छन् । सिद्धिचरण नगरपालिका–७ बिगुटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का युवक समान्य घाइते भएका छन् । सोलुखुम्बुको सोलु दुधकुन्ड नगरपालिका–१ का २८ वर्षीय नुरु छिरिङ शेर्पाको ज्यान गएको प्रहरीले जनाएको छ ।
मंगलबार राति बिगुटार–रामपुर सडकखण्ड अन्तर्गत फन्पुमा लु ६५प ८०७० नम्बरको मोटरसाइकलसहित करिब ३ सय मिटर तल भिरबाट खसेका चालक शेर्पाको ज्यान गयो र पछाडी सवार साथी सडकमै खसेकोले सामान्य घाइते भएको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रोहितकुमार शर्माले जानकारी दिए ।
मध्यरात मादक पदार्थ खोजी गर्न निस्केका उनीहरु दुर्घटनामा प्रहरीले जनाएको छ । सोलुखुम्बुबाट साथीको घरमा आएका उनीहरुले राति अबेरसम्म मादक पदार्थ सेवन गरेको र अपुग भएपछि रामपुरतर्फ मादक पदार्थ खोजी गर्न जाने क्रममा दुर्घटनामा परेको प्रहरी निरीक्षक शर्माको भनाइ छ ।
प्रहरीका अनुसार कच्ची तथा हिलाम्मे बाटोमा बिना हेलमेट हिँडेका उनीहरु फन्पुमा पुगेपछि बाइक चिप्लिएर दुर्घटना भएको थियो ।
मृतक शेर्पाको शवलाई बुधबार दिउँसो ईलाका प्रहरी कार्यालय रामपुरबाट खटेको प्रहरी टोलीले डोरी लगाएर निकालेको प्रहरीले जनाएको छ ।
