Sunday, August 9News That Matters

मोरङमा थप ९ कोरोना संक्रमितको ज्यान गयो

पूर्णपुष्टि, वैशाख ३१

मोरङमा थप ९ जना कोरोना संक्रमितले ज्यान गुमाएको छ । सात जनाको आज बिहान र दुई जनाको हिजोसाँझ ज्यान गएको हो ।

मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा २, विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ३ र नोबेल शिक्षण अस्पतालमा ४ जनाले ज्यान गुमाएको छ । ज्यान गुुमाउनेमा १ वृद्धा महिला र ३ जना वृद्ध पुरुष रहेका छन् ।

नोबेल शिक्षण अस्पतालमा आज बिहान ६ः३० बजेतिर विराटनगर महानगरपालिका–१६ की ७४ वर्षीया वृद्धा महिलाको ज्यान गएको छ । पीसीआर परीक्षण गराउँदा वैशाख २७ गते उनको रिपोर्ट पोजिटिभ आएको थियो । कोरोना पुष्टि भए पनि होम आइसोलेसनमै रहेकी उनलाई श्वास फेर्न गाह्रो भएर स्वास्थ्यमा समस्या थपिएपछि बिहान अस्पताल लगिएको हो । उपचारका लागि ल्याएको केही बेरमै चिकित्सकले मृत घोषित गरेको अस्पतालले जनाएको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–१ का ३८ वर्षीय पुरुषको पनि नोबेलमै ज्यान गएको छ । दाहालकाअनुसार कोरोना भएको यकिन भएपछि उनलाई गत वैशाख २२ उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पतालकाअनुसार उपचारकै क्रममा बिहानका राति २ बजेतिर उनको ज्यान गएको हो ।

धनकुटा जोरपाटीका ५६ वर्षीय पुरुषको पनि बिहान ५ बजेतिर ज्यान गएको छ । उपचारकै क्रममा ज्यान गएका उनमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ । कोरोना पुष्टि भएपछि उपचारका लागि वैशाख २८ गते अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ । महोत्तरी घर भएका ७७ वर्षीय वृद्ध पुरुषको पनि नोबेलमै उपचारका क्रममा बिहान ५ः३० बजेतिर ज्यान गएको छ । पीसीआर परीक्षण गराउँदा यसअघि नै कोरोना पुष्टि भएका उनलाई उपचारका लागि बिहान १ बजेतिर मात्रै अस्पताल भर्ना गरिएको थियो । उपचार थालिएको साढे चार घण्टा नबित्दै संक्रमित वृद्धको ज्यान गएको अस्पतालले जानकारी दिएको छ ।

विराटनगर महानगरपालिका–११ मा बस्दै आएका ३८ वर्षीय पुरुषको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा बिहान १२ः३० बजेतिर ज्यान गएको छ । मृतक महिला अधिकारका क्षेत्रमा कार्यरत ओरेक नेपाल विराटनगरका परियोजना संयोजक दीपक सेन्च्युरी भनिने लालबहादुर विश्वकर्मा हुन् । पीसीआर परीक्षण गराउँदा कोरोना रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि वैशाख १९ गते अस्पताल भर्ना गरिएको थियो । विश्वकर्माको उपचारकै क्रममा भेन्टिलेटरमा ज्यान गएको केन्द्रले जनाएको  छ ।

अस्पतालकाअनुसार विराटनगर–६ का ५६ वर्षीय पुरुषको पनि उपचारकै क्रममा बिहान १ बजेतिर ज्यान गएको छ । कोरोना संक्रमित पुरुषलाई उपचारका लागि वैशाख २४ गते कोभिड अस्पताल भर्ना गरिएको थियो । कोसी कोभिडमै सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ७९ वर्षीय वृद्ध पुरुषको ज्यान गएको छ । अस्पतालकाअनुसार उपचारका लागि संक्रमित वृद्धलाई हिजो मात्रै भर्ना गरिएको थियो । उपचारका क्रममा बिहान १ः३० बजेतिर ज्यान गएको अस्पतालले जनाएको छ ।

त्यस्तै मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा कोरोना संक्रमित २ जनाको ज्यान गएको छ । विराटका कोभिड अस्पतालकाअनुसार विराटनगर–९ का ४९ वर्षीय पुरुषको हिजोसाँझ ७ः४० बजेतिर ज्यान गएको हो । उनलाई उपचारका लागि वैशाख २० गते भर्ना गरिएको अस्पतालले जनाएकोे छ ।

विराटनगर–६ का ६४ वर्षीय वृद्ध पुरुषको राति ८ बजेतिर विराटमै ज्यान गएको छ । कोरोना पुष्टि भएपछि वैशाख २० मा अस्पताल भर्ना गरिएका उनको आईसीयूमा उपचारका क्रममा ज्यान गएको अस्पतालले जानकारी दिएको छ ।