
पूर्णपुष्टि, चैत ३
किरात राई यायोक्खा केन्द्र र मोरङ जिल्ला समितिको टोलीले किरात समुदायको सांस्कृतिक आस्थाको केन्द्र खुवालुङमा झण्डा गाडेका छन् ।
किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई, प्रचार विभाग प्रमुख समेत रहेका केन्द्रीय सचिव अर्जुन जम्नेली राई, मोरङ जिल्ला इन्चार्ज रहेका केन्द्रीय सदस्य नवीन राई, बिशाल कोयु राई, यायोक्खा जिल्ला अध्यक्ष नरहाङ राई, उपाध्यक्ष सीता राई लगायतको ५१ जनाको टोली खुवालुङ पुगेर यायोक्खाको झण्डा गाड्नुको साथै विरोध कार्यक्रम गरेका हुन् ।
सप्ताकोशी नदीमा केही बर्ष अघिदेखि निजी कम्पनीहरुले जेटबोट (जल यातायात) संचालन गर्दै आएका छन् । बोट संचालनमा सहजता ल्याउनको लागी नदी विचमा भएका ठूल–ठूला ढुङ्गा भत्काउने कुरा चलिरहदा किराँतीहरुको सांस्कृतिक आस्थाको केन्द्र रहेको खुवालुङसमेत फुटाउने प्रशंगले खुवालुङ बचाउन अभियानमा यायोक्खा निरन्तर रुपमा लागि रहेको छ ।
किराँत समुदायको मिथकसँग प्रत्यक्ष जोडिएको खुवालुङ उदयपुरको बेलाका र धनकुटाको सहिदभूमि गाउँपालिकावीच भागमा पर्दछ । खुवालुङ तमोर, अरुण र उत्तर तिरबाट आएका सुनकोशी (पञ्चकोशी)को संगम स्थल त्रिवेणीमा पर्दछ । खुवालुङ पुग्न बाहाह क्षेत्रको पुलदेखि जेटबोटमा करिव २० मिनेटको दुरी हरेको छ ।
जलमार्ग सफा गर्न १ नम्बर प्रदेश सरकारले रकम बिनियोजन गरेर ढुङ्गा फुटाउन टेन्डर समेत लागेको प्रसंश सार्वजनिक हुन थालेपछि किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईको संयोजनमा २०७७ माघ १ गते यायोक्खा सुनसरी जिल्ला अध्यक्ष बलराम राईको संयोजकत्वमा खुवालुङ संरक्षण समिति गठन भएर क्रियाशिल रहेको छ ।
फागुन ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीलेले विराटनगरको एक समारोहलाई सम्बोधन गर्दै जलमार्ग अवरोध गर्ने ढुङ्गा फुटाउने तयारी भइरहेको मन्तब्य दिएपछि किरात समुदाय खुवालुङ नष्ट गर्न नहुने माग राख्दै आएको छ । खुवालुङ्ग लगायतको अबरोध हटाउन आधुनिक मेसिनको प्रयोग लिएर आएपनि स्थानीयहरुले फर्काइ दिएका थिए ।
यसैवीच फागुन २८ गते किरात राई यायोक्खा केन्द्र र मोरङ जिल्लाका पदाधिकारी सदस्यहरु खुवालुङ भएकै स्थलमा पुगेर कार्यक्रम गरेका छन् ।
जलमार्ग संचालन गर्दा किराँतीहरुको सांस्कृतिक आस्थाको केन्द्र खुवालुङलाई बचाएर लानु पर्ने यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राईले बताउनुभयो ।
किराँत पुर्खाहरु उत्तर लाग्दा खुवालुङमा ढोका बन्द भएको र जुरेली चराको भोग दिएपछि खुलेको र नछुङ (धामी)हरु मुन्दुम गाउँदै अनिवार्य खुवालुङ आएर शक्ति आर्जन गर्ने गरेको केन्द्रीय प्रचार विभाग प्रमुखसमेत रहेका केन्द्रीय सचिव अर्जुन जम्नेली राईले बताउनुभयो । खुवालुङ माथि क्रेन लगाइए लगाउने ब्यक्ति, समूहलाई अनिष्ट हुने बताउनुभयो । खुवालुङको संरक्षण र विकास गर्न सकिए १ नम्बर प्रदेशकै उत्कृष्ट पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने संभावना रहेको उहाँले बताउनुभयो ।
यायोक्खा मोरङ जिल्ला अध्यक्ष नरहाङ राईले खुवालुङ जवरजस्ति भत्काइए रत्तपात हुनसक्ने चेतावनी दिए । खुवालुङ हाम्रो आस्थाको केन्द्र लगायतको प्लेकार्ड सहित त्यहा पुगेको टोलीले खुवालुङ मास्न पाइदैन, खुवालुङ बचाउ अभियान लगायतको भित्ते लेखन समेत गरेका छन् ।
शुक्रबार नै यायोक्खा केन्द्रीय समितिले कोटेश्वर सुम्निमा हलमा मुन्दुम, संस्कृति र कानूनविदहरुसँग अन्तरक्रिया गरेको छ । खुवालुङ किरात राई, लिम्बू, याक्खा, सुनुवार लगायतका समुदायले सांस्कृतिक महत्वको रुपमा लिदै आएका छन् ।
किराँती समुदायको धार्मिक साँस्कृतिक महत्व बोकेको खुवालुङलाई बचाएर नदीको एक छेउबाट जलमार्ग खोल्न यायोक्खाले सरकारसँग अनुरोध गर्दै आएको छ ।

खुवालुङ्ग के हो ?
किराँत पूर्खाहरु तराई क्षेत्रदेखि उत्तर पहाड लाग्ने क्रममा खुवालुङ्ग पुग्दा ढोका बन्द भएको र एक भाईले जुरेली चराको भोग दिएपछि ढोका खुलेर पहाडतिर चढेको मिथक रहेको छ । एक भाईले जुरेलीको भोग दिदा ढोका खुल्यो भने अर्को भाइले चेलीको खुट्टाको कान्छि औला काटेर रगत दिएपछि ढोका खुलेर पहाडतिर लागेको मुन्दुममा उल्लेख छ ।
ढोका खुलेर माइतिचेली उको लागेपनि बहिनीको रगत अत्याधिक बगेर मृत्यु भएको मिथक छ । चेलीको रगत लागेको केराको पात बाख्राले खाएकाले चाम्लिङ राईहरुको घरमुलीले हालसम्म खसी, बाख्राको मासु खाँदैनन । जवरजस्ति खाएमा विरामी हुन्छन भन्ने मान्यता छ ।
अर्कोतर्फ किराती समुदाय जन्मदेखि मृत्यु संस्कारसम्म आवश्यक पर्ने नछुङ (धामी), फेदाङ्मा, नाक्सोले मुन्दुम गाउँदै उभो हिमालसम्म र उद्यो खुवालुङसम्म आउने परम्परा छ । भौतिक रुपमा खुवालुङ नदेखेका मुन्दुमी (नछुङ)हरु हरेक चिन्ता (धामी बस्दा) देउ शक्ति आर्जन गर्न खुवालुङ आइपुग्छन । खुवालुङ आएर डुङ्गा खियाएको सिशीसँगै नदी पार गरेर खुवालुङमा पुग्दछन् ।
किराती पूर्खाहरु खुवालुङबाट अरुण, तमोर, सुनकोशी नदी पछ्याउदै पहाडतर्फ लागेका थिए । यी नदीहरुहुँदै शाखा नदीरखोला किनारामा किराती समुदाय बिकसित भएको पाइन्छ ।
