
पूर्णपुष्टि, कात्तिक ४
यस वर्षको विजया दशमीको टीका लगाउने शुभ साइत बिहान १०ः१९ बजे जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक १० गते बिहान १० बजेर १९ मिनेटका लागि टीकाको शुभ साइतलाई उत्तम मानेको गृह मन्त्रालयले जनाएको छ ।
यद्यपि उत्तम साइतपछि पूर्णिमाको दिनसम्म टीका लगाउन सकिने उल्लेख छ । यो साल देवी विसर्जनको ८ मिनेटमै टीकाको साइत जुरेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यो साल घटस्थापनाको दिन चित्रा नक्षत्र परेको हुँदा टीकामा त्यसको असर परेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
शास्त्रमा ‘वैदित्रो पुत्र नासस्य, चित्राया धन नाशनम्’ भनिएकाले यस दोष निवारणको लागि देवी विसर्जनको ८ मिनेटमा नै टीकाको साइत जुराइएको समितिले जनाएको छ ।
अघिल्ला वर्षहरूमा देवी विसर्जन गरेपछि ३० देखि ४५ मिनेटपछि मात्रै टीकाको साइत जुराउने गरिएका थियो ।
विजयादशमीको दिन तुलजा भवानीको यात्रा बिहान ८ः४७ बजेका लागि तोकिएको छ भने देवी विसर्जनको साइत बिहान १०ः११ मिनेटको लागि तोकेको छ ।
