Tuesday, June 2News That Matters

रसुवागढी नाकाबाट २२ गतेदेखि आयात सुरु हुने

पूर्णपुष्टि,  असार १९

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट आगामी असार २२ गते अर्थात सोमबारदेखि आयात सुरु हुने भएको छ । एक साताअघि नै नाका खोल्ने सहमति भए पनि चिनियाँ पक्षले हिजोदेखि सामग्री लोड गर्न थालेको हो ।

सामग्री लोड हुन थालेको र सम्पूर्ण जाँचपासको प्रक्रिया पूरा गरेर चिनियाँ गाडी सोमबार रसुवागढी नाका आइपुग्ने रसुवा भन्सारले जनाएको छ । कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन भन्दै गत माघ १५ गतेदेखि नाका बन्द भएको थियो ।

सीमामा व्यापारिक गतिविधि बढेपछि कोरोनाको सङ्क्रमण पनि फैलन सक्ने भएकाले स्वास्थ्य सुरक्षालाई ध्यान दिएर नाका खोल्ने सहमति भएको थियो । पहिलो चरणमा नेपाली पक्षले चिनियाँ पक्षलाई १५ जना चालक र १५ जना कामदारको विवरण उपलब्ध गराएको छ ।

नाका सञ्चालनमा आएपछि मितेरी पुलसम्म चिनियाँ पक्षले नै सामग्री ल्याइदिनेछन् । मितेरी पुलमा सामग्री लिन जाने चालक तथा लोड अनलोडका लागि जाने कामदारको दैनिक परीक्षण गरिने जनाईएको छ । मितेरी पुललाई प्यासेन्जर निषेधित क्षेत्र बनाइनेछ । यसअघि सरकारले सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका एकसाथ सञ्चालन ल्याउने निर्णय गरेको थियो ।

चीनबाट सामग्री आयात गर्दा कोरोना भित्रने सक्ने त्रासमा स्थानीयले विरोध गरेपछि तातोपानी नाका मात्रै सञ्चालनमा आएको थियो । नाका सञ्चालन नआउँदा साढे तीन महिनादेखि राजस्व संकलन हुन नसकेको कार्यालयले जनाएको छ ।

रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ भने बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ ।